News 24 Television
हेटौंडामा जोखिम उच्च ! व्यवसायी हैरान

मकवानपुर । गत शनिबार हेटौंडा सडक विस्तारको क्रममा हेटौंडा बजार क्षेत्रमा रहेका ५ सय भन्दा बढी घरहरुमा डोजर चल्यो । त्यसको भोलिपल्ट आइतबार सडक डिभिजनमा सर्वोच्च अदालतको स्टे अर्डर पुगेपछि सडक विस्तार कार्य रोकियो । भत्काइएका घर–टहरा र व्यवसायिक संरचनाका भग्नावशेष अझै सडकमै छरपष्ट रहेका छन् । 

अव्यवस्थित सडक, जोखिमपूर्ण आवतजावत र सुरक्षाको चिन्ता बीच पनि स्थानीय व्यवसायीहरूले सामान कटाउनुपर्ने भन्दै जोखिम मोलेरै व्यापार–व्यवसाय सञ्चालन गर्न थालेका छन् । 

हेटौडा बजार हिजोआज जोखिमपूर्ण बनिरहेको छ । मंसिर ५ गते १५ दिने अल्टिमेटम सूचना जारी गरेको सडक डिभिजन कार्यालय, हेटौंडाले सूचनाको म्याद सकिएको भोलिपल्टै अर्थात् मंसिर २० गते बिहानैबाट हेटौंडा बजार क्षेत्रमा डोजर चलायो । 

सोही दिन साँझसम्ममा ५ सय भन्दा बढी संरचनामा डोजर चल्यो । बाँकी ३०÷३५ घरमा पनि त्यसको भोलिपल्ट अर्थात् आइतबार नै डोजर चलाउने लक्ष्य सडक डिभिजनको थियो । तर सडक विस्तार कार्यमा न्यायिक निरुपणका लागि भन्दै सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेश तामेली भएपछि आउँदो २६ गते सम्मका लागि सडक विस्तार कार्य रोकियो । 

न बाँकी संरचना भत्काउन पाइयो, न त भत्किएका र जोखिम भएका संरचना पन्छ्याउन पाइयो । यसरी एकैदिन चलाइएको डोजरले भत्काएका संरचनाहरुले यतिबेला हेटौंडा बजार अस्तव्यस्त छ । सडकमै बिजुली पोल ढलेको अवस्थामा छ । तारहरु लत्रिएका छन् । तर यस्तै अस्तव्यवस्ताका बीच व्यवसायीहरु भने जोखिम मोलेरै व्यापार गरिरहेका छन् । 

घर, पसल भत्किए पनि बैंकको व्याज तिर्नका लागि बाध्यताले जोखिम मोलेरै व्यापार गर्न परिरहेको उनीहरुको गुनासो छ । त्यसोत, अव्यवस्थित तरिकाले व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुको लागि मकवानपुर उद्योग वाािणज्य संघले जोखिम मोलेर व्यवसाय सञ्चालन नगर्न आग्रह गरेको छ ।

व्यवसायीहरुको लागि ठाउँको अभाव भएको खण्डमा महासंघको सचिवालयमा निवेदन भर्न सकिने व्यवस्था मिलाइएको र सोही निवेदनका आधारमा उचित स्थानमा सटरहरु खोज्न उद्योग वाणिज्य संघले सहजीकरण गर्दै आएको दाबी गरेको छ  । 

यता, संरचनाहरू भत्काइएपछि सुरक्षा चुनौती बढेपछि हेटौंडा उपमहानगरपालिकाले नगर प्रहरीलाई व्यापक रूपमा फिल्डमा खटाएको छ । नगर प्रहरीले सडकपेटीमा अनियमित रूपमा राखिएका पसल र सामान हटाउन लगातार दवाव दिँदै आएको छ । तर व्यापारीहरूले बारम्बार अटेर गरेपछि सुरक्षाको जोखिम बढेको भन्दै उपमहानगरपालिकाले अब सडकपेटीमा राखिएका सामग्रीहरू जफत गर्ने तयारी समेत थालेको बताइएको छ ।  

हाललाई अल्पकालीन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले विवाद सम्बन्धि विषयमा दुवै पक्षलाई मंसिर २६ गते छलफलका लागि उपस्थित हुन आदेश दिएको छ । अदालतको आदेशले भत्काइएका संरचना हटाएर सडक सफा गर्ने कार्यदेखि बाँकी संरचना हटाउने प्रक्रियासम्म रोकिएपछि हेटौंडा बजार क्षेत्रमा आवतजावत नै जोखिमपूर्ण बनेको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update