News 24 Television
यति ग्रुपको कब्जामा सगरमाथादेखि दरबारमार्गसम्म : जेनजी सरकारले चलाउँदा हतौडा ?

काठमाडौं । यति समूह नेपालको सार्वजनिक सम्पत्तिमा सहज रजाई गर्ने मध्येको एक हो । यो समूहले लिजमा लिएका सरकारी जग्गामा भएको चलखेल र अनेक प्रपञ्चविरुद्ध जेनजी सरकार आएपछि कारबाहीको अपेक्षा गर्न थालिएको छ । व्यवसायीक योजनाको नाममा चलिरहेको राज्य सम्पत्तिमाथिको लुटमा अब अपेक्षाकृत कारबाही स्वभाविक बन्न पुगेको छ । 

यति ग्रुपले राज्य सम्पत्तिमाथि लुट मच्चाएको भन्दै जेनजी सरकार एक्सनमा उत्रने अपेक्षासहितका आवाज बुलन्द बन्दै गएका छन् । सरकारी जग्गा लिजमा करोडौंको चलखेल भएको भन्दै विगतदेखि नै यि विषय सतहमा छन् । 

ठुला राजनीतिक दलका नेताहरुसँगको सेटिङमा सबै चलखेल भइरहेको भन्दै विरोधका आवाज विगतदेखि रहिआएपनि अब भने सरकार कारबाहीमा उत्रिनु पर्ने दबाब बढीरहेको देखिन्छ । 

के–के गर्छ यति ग्रुपले ?

हवाई सेवा, पर्यटन, होटल व्यवसाय र सरकारी सम्पत्ति लिजमा लिएर भाडामा लगाउने अग्रणी संस्थामा पर्छ, यति ग्रुप । यतिले चलाएका अधिकांश कम्पनी र संस्थाहरुले सरकारी बन्धन र कानूनी झमेला सहजै पार गर्ने गरेको विषय लुकेको छैन् । 

यस्तोमा यति समूहले काठमाडौंमा रहेको दरबारमार्गको जग्गा प्रकरण जसरी चर्चामा छ,यसरी चर्चामै नआएका धेरै विषयहरु छन् । जस कारण यति ग्रुपलाई कारबाहीको दायरामा ल्याउनुपर्ने दबाब जेनजी सरकारमाथि बढी रहेको छ । 

सरकार पनि यतिमाथि एक्सनको तयारीमा छ । त्यसैले पनि सरकारले कारबाहीका श्रृङ्खला नै चलाउने देखिएपछि अचेल अनेक दबाब आउने गरेको प्रधानमन्त्री सुशीला कार्कीले प्रष्ट संकेत गरेकी छन् । 

यति समूहले सरकारी सम्पत्तिमा चलाइरहेको रजगजमा अन्तरिम सरकारले आवश्यक कारबाही थाल्ने आम अपेक्षा गरिएपनि परिस्थिति के होला भन्ने चासो भने उत्तिकै जिवित छ । 

यतिले चलखेल गरेका प्रमुख क्षेत्रहरु 

१. सगरमाथा क्षेत्र कब्जा

सगरमाथा राष्ट्रिय निकुञ्जभित्रको जग्गामा यति समूहले अवैध कब्जा जमाएको विषय पटक–पटक तथ्यसहित प्रस्तुत हुँदैआएका छन् । जहाँ अहिले पनि रिसोर्ट चलिरहेको छ । यति समूहले गोकर्ण फरेस्ट रिसोर्टमा मात्रै होइन, सगरमाथा राष्ट्रिय निकुञ्जका विभिन्न क्षेत्रहरूमा पनि अनधिकृत कब्जा जमाएर रोचक शक्ति प्रदर्शन गरिसकेको छ । 

सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा कब्जा गर्दा १० मंसिर ०५८ को रात, माओवादीको हमलामा तत्कालीन मालपोत अधिकृत भीमबहादुर सम्बाहाम्फे मारिए तर, उनकै हस्ताक्षरले नामसारी गरेको देखिन्छ । यति समूहका आङछिरिङ शेर्पा र उनका भाइहरूले नक्कली कागजात बनाएर, जग्गा कब्जा गरे । 

यहाँ यति समूहले “कोङदे भ्यू रिसोर्ट“ निर्माण गरेको थियो र यस कार्यप्रति युनेस्कोले पनि विश्व सम्पदा सूचीबाट हटाउने चेतावनी दिएको थियो । यति समूहको यो गतिविधि अहिलेसम्म विवादको केन्द्रमा छ ।

पाथीभरा केवलकार र आईएमई समूहको साँठगाँठ

पाथीभरा केबलकार परियोजनामा पनि यति समूहले निर्माणको जिम्मा लिएको थियो । तर, यसले केवलकारको लाइसेन्स नै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल अध्यक्ष रहेको आइएमई ग्रुपलाई सुम्पिइयो । 

यस परियोजनाको निर्माण सम्झौता हेर्ने हो भने  यसरी लाइसेन्स हस्तान्तणको व्यवस्था गरेको देखिन्न ।

एमाले र ओली कनेक्शन

यति समूहले एमालेसँग अत्यन्तै निकटको सम्बन्ध स्थापित गरेको देखिन्छ । एमाले नेतृत्वलाई नै साथ लिएर यति समूहले अनेक कब्जा गर्न सहज स्थिति सिर्जना गरेको अवस्था छ । तर, एमाले अध्यक्ष केपी ओली यति समूहका बारेमा आफुमाथि लाग्ने गरेका आरोपको सार्वजनिक रुपमै खण्डन गर्ने गर्दछन् ।  

हाल यति समूहका मुख्य धरोहर आङछिरिङ शेर्पा जीवित छैनन् । तर, उनका उत्तराधिकारीहरुले यति समूहले गर्दै आएको चलखेललाई जीवित राखिरहेका छन् । खासमा, एमालेसँगकै साँठगाँठमा भइरहेका कामहरुको शिलशिलामा तत्कालीन अवस्थामा ताप्लेजुङ्गमा हेलिकोप्टर दुर्घटना भएको हो समेत भनिन्छ । 

त्यस समय हेलिकोप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित यतिका अध्यक्ष आङछिरिङ शेर्पासहितका व्यक्तिहरुको निधन हुन पुग्यो । विभिन्न पर्यटनसम्बन्धिका योजनामा काम गर्न भन्दै सरकारी अधिकारीलाई विभिन्न क्षेत्रमा लैजाने गरेको यति समूहले त्यस समय पनि परियोजनाका काम, अवलोकन अनेक नाममा हेलिकोप्टरबाट सयर गराउने गर्दथ्यो । 

राज्यसम्पत्तिमाथि नीतिगत तहमै कब्जा गरेर लुट मच्चाएको भनि जनस्तरबाटै चर्को विरोध भइरहने यति ग्रुपमाथि जेनजी आन्दोलनपछि बनेको सरकारले कस्तो कदम चाल्ला त ? यतिमाथि कारबाहीको डण्डा चलाउँदै एकछत्र कब्जाको जालो भत्काउन त्यति सहज त छैन, तर, राज्यले चाहे यो काम गर्न सक्छ । 

त्यसमाथि पनि सुशासनको जग बसाल्न आएको भनिएको जेनजीको जगमा बनेको अन्तरिम सरकारले इच्छाशक्ति देखाए यो काम सम्भव भने पक्कै छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update