News 24 Television
बालविवाह रोक्न स्थानीय तह सक्रिय, सर्लाहीका केही क्षेत्र बालविवाह मुक्त

सर्लाही । सर्लाहीको गोडैता नगरपालिकाको वडा नम्बर १ र वडा नम्बर १२ लाई बालविवाह मुक्त घोषणा गरिएको छ । ‘बालविवाह जिन्दगी तबाह’ भन्ने नाराका साथ अभियान थालेका वडा नम्बर १ र १२ ले आफ्नो क्षेत्रलाई बालविवाह मुक्त घोषणा गरेका हुन् । सर्लाहीको गोडैता नगरपालिकाका दुई वटा वडाहरुलाई बालविवाह मुक्त घोषणा गरिएको  छ । 

बालविवाह मुक्त क्षेत्र घोषणा कार्यविधि, २०८१ बमोजिम नगरपालिका, सेभ द चिल्ड्रेन र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रको सहकार्यमा विभिन्न जनचेतना मुलक कार्यक्रम गरि सर्लाही मै पहिलो पटक बालविवाह मुक्त वडा घोषणा गर्न आफुहरू सफल भएको गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादवले बताए । 

नेपाल सरकारले विवाह दर्ता समेत अनलाईन बाटै गर्ने प्रावधान ल्याई सकेकोले २० वर्ष मुनि बालबालिकाको विवाह गरे नागरिकता र विवाह दर्ता समेत बनाउन नमिल्ने र आफनै देशमा अनागरिक बनेर बस्न बाध्य हुने अवस्था नआओस भन्नेमा आफुहरु सचेत रहेको उनले बताए । यसैका लागि आगामी दिनमा कडाईका साथ बालविवाह रोक्न सबैले भूमिका खेल्नुपर्ने  मेयर यादवको भनाई छ । 

आफ्नो वडा सर्लाही जिल्ला मै प्रथम बालविवाह मुक्त घोषणा एक ऐतिहासिक उपलब्धि रहेको बताउदै भविष्यमा कुनैपनि बालविवाह नहोस भन्ने सुनिश्चितता गर्न निरन्तर प्रयास, सशक्त समुदाय सहभागिता र कानूनी कार्यान्वयन अनिवार्य रहेको वडा नं १२ का अध्यक्ष केशव कुमार बताउँछन् । 

बालविवाह मुक्त वडा घोषणा पश्चात पनि बाल अधिकार समितिको नेतृत्वमा सबै सरोकारवाला र बालबालिकाहरु सहितको उपस्थितमा वार्षिक योजना नै तयार गरि विभिन्न क्रियाकलापहरु संचालन गरिने योजना छ ।  

सभामा बालविवाह मुक्त घोषणा कार्यान्वयन कार्यपत्र २०८२ प्रस्तुत गरेर उपस्थित स्थानीय, नागरिक अगुवा सहित ले प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update