दोलखा । नगरपालिका–२ को नवनिर्मित भवनको उद्घाटन गरिएको छ । बिहीबार भवनको उद्घाटन भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले गरेका हुन् ।
कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै मेयर मानन्धरले दोलखा बजारलाई देवताको शहर भन्दै स्थानीय तहमा निर्वाचित भएपछि वडा कार्यालय निर्माण गर्ने नगरको योजनाअनुसार भवन निर्माण गरिएको बताए ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष स्टालिन श्रेष्ठले आधुनिक सुविधा सहितको कार्यालय निर्माण भएपछि नागरिकले सेवा प्राप्त गर्न सहज हुने र वडाको प्रशासनिक क्रियाकलाप अझ व्यवस्थित तथा छिटो छरितो हुने विश्वास व्यक्त गरे ।

प्राचीन ऐतिहासिक तथा पुरातात्विक नगरी कोर्छें टोलमा निर्माण सम्पन्न भएको भवन निर्माणमा कुल १ करोड २३ लाख २९ हजार ६१७ रुपैयाँ खर्च भएको वडाध्यक्ष स्टालिन श्रेष्ठले जानकारी दिए ।
भवनको केही काम ठेक्का मार्फत र केही काम उपभोक्ता समितिमार्फत सम्पन्न भएको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । भवन निर्माणका क्रममा स्थानीयको श्रम, सहयोग र सुझावले महत्वपूर्ण भूमिका खेलेको उनले बताए । भवन निर्माण गरिएको स्थानमा पञ्चायतकालमा दोलखा गाउँ पञ्चायतको भवन रहेको थियो । नवनिर्मित भवन भुइँतलासहित तीन तल्लाको छ ।

भवनमा विभिन्न शाखाका कार्यकक्ष, वडाध्यक्ष तथा वडा सदस्यहरूको कार्यकक्ष, बैठक कक्षलगायत रहेको वडा कार्यालयले जनाएको छ । भवन उद्घाटन समारोहमा भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदी, वडा नम्बर–३ का वडाध्यक्ष हरिशरण शिवाकोटी, वडा नम्बर–६ का वडाध्यक्ष नविन लामा, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
