सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–तिपेनीका पूर्व लडाकु हरिबहादुर दनुवारलाइ २ कोठे पक्कि घर हस्तान्तरण गरिएको छ । दनुवार सशस्त्र जनयुद्धका क्रममा तीनपटक मृत्युको मुखबाट फर्किएका थिए ।
युद्धका क्रममा एउटा आँखा र हातका तीन औँला गुमाएका दनुवार शान्ति प्रक्रियापछि पनि लामो समयसम्म दयनीय अवस्थामा जीवन बिताउन बाध्य थिए । स्थानीय पहल र सहयोगबाट निर्माण भएको घरले अब उनको जीवनमा सम्मान र सुरक्षाको नयाँ आशा थपेको छ ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–तिपेनीका पूर्व लडाकु हरिबहादुर दनुवारलाइ जनस्तरबाट संकलन गरिएको चन्दाबाट २ कोठे घर निर्माण गरी हस्तान्तरण गरिएको छ ।
नेपाली कम्युनिष्ट पार्टी पाँचपोखरी थाङपाल गाउँपालिका समितिले पूर्व लडाकुको दयनीय अवस्था देखेपछि पाँच महिना अघि घर निर्माण अभियान सुरु गरेको हो ।
जनस्तरबाट संकलन गरिएको चन्दाबाट निर्माण सम्पन्न घरको प्रदेश सभा सदस्य युवराज दुलालले सोमबार रिबन काटेर उद्घाटन गरे । सोही अवसरमा उनले पूर्व लडाकु हरिबहादुर दनुवारलाई घरको चाबी हस्तान्तरण गरे । उनले शान्ति प्रक्रियामा योगदान दिएका घाइते तथा अपांग पूर्व लडाकुको जीवन सहज बनाउनु राज्य र समाज दुवैको दायित्व भएको उल्लेख गरे ।
सशस्त्र युद्धका क्रममा तीनपटक मृत्युको मुखबाट फर्किएका पाँचपोखरी थाङपाल गाउँपालिका–तिपेनीका पूर्व लडाकु हरिबहादुर दनुवारको जीवनले युद्धपछिको राज्य र समाजको वास्तविक अनुहार झल्काउँछ ।
युद्धमा एउटा आँखा र देब्रे हातका तीन औँला गुमाएका दनुवारले शान्ति प्रक्रियापछि पनि सम्मानजनक जीवन पाउन भने सकेनन् । तीन बालबालिका सहित पाँच सदस्यीय परिवार लिएर उनी घाम–पानीबाट जोगिन नसक्ने सानो टहरोमा वर्षौँ बिताउन बाध्य भएका थिए ।
स्थानीय पहल, पार्टी संरचना र शुभेच्छुकहरूको सहयोगमासुरक्षित दुई कोठे घर पाएको दनुवार परिवार सोमबारदेखि सुरक्षित दुई कोठे घरमा बस्न थालेको छ ।
घर निर्माणका लागि बालुवा, सिमेन्ट, बत्ती लगायतका जिन्सी सामग्रीमा १ लाख ३७ हजार रुपैयाँ बराबरको सहयोग जुटेको थियो भने नगदतर्फ ३ लाख १५ हजार ६ सय ९० रुपैयाँ सहयोग प्राप्त भएको थियो ।
यो घटना केवल एक व्यक्तिको घर प्राप्तिको कथा होइन,शान्ति प्रक्रियापछि पनि छुटेका आवाज र जिम्मेवारीप्रति समाजले देखाएको आत्म मूल्यांकन हो ।
नेपाली कम्युनिष्ट पार्टी पाँचपोखरी थाङपाल गाउँपालिका समितिको अगुवाइमा पाँच महिनाअघि सुरु गरिएको घर निर्माण अभियानले सामाजिक सहकार्यको उदाहरण प्रस्तुत गरेको छ ।
