News 24 Television
नगरपालिकाले टहरा भत्कायो, सिडियोलाई उजुरी

पर्सा । वीरगंजको घण्टाघर नजिकै बीपी उद्यानको जग्गामा अव्यवस्थित रुपमा वर्षौदेखि संचालनमा रहेको बजार महानगरपालिकाले खाली गराएपछि तरकारी व्यापारीहरु आक्रोशित बनेका छन् । उद्यानको जग्गामा तरकारी बजार सञ्चालनको नाममा अनधिकृत रुपमा रहेका संरचनाहरु हटाइएपछि तरकारी व्यापारीहरु आक्रोशित भएका हुन् । 

वीरगंजको घण्टाघर नजिकै बीपी उद्यानको जग्गामा अव्यवस्थित रुपमा वर्षौदेखि संचालनमा रहेको बजार वीरगंज महानगरपालिकाले खाली गराएपछि तरकारी व्यापारीहरु आक्रोशित बनेका छन् । 

उद्यानको जग्गामा तरकारी बजार संचालनको नाममा अनाधिकृत रुपमा रहेका संरचनाहरु हटाइएपछि तरकारी व्यापारीहरु आक्रोशित भएका हुन् । महानगर प्रमुख राजेशमान सिंहको नेतृत्वमा एका विहानै नगर प्रहरी तथा सशस्त्र प्रहरीको सहयोगमा डोजर प्रयोग गरी खाली गराएसँगै व्यापार बन्द गरि व्यापारीहरु विरोधमा उत्रिएका हुन् । 

सार्वजनिक स्थलको संरक्षण, ट्राफिक व्यवस्थापन र शहरलाई व्यवस्थित बनाउने उद्देश्यसहित वीरगंज महानगरपालिकाले चलाएको कदमलाई सकारात्मक ठानिएपनि  वर्षौदेखि तरकारी तथा फलफूल व्यवसाय गर्दै आएका दर्जनौँ स्थानीय व्यवसायीहरू विस्थापित हुनुपरेको छ । 

त्यसैले आफ्नो दैनिक आम्दानीको मुख्य श्रोत खोसिएको भन्दै स्थानीय ब्यवसायीहरुले घण्टाघर क्षेत्रमा भेला भएर महानगर प्रमुखको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । उनीहरुले मेयरको कार्यप्रति आपत्ति जनाउँदै पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण समेत गराएका हुन् । बीपी उद्यान वीरगंज शहरको मुटुका रूपमा चिनिन्छ । 

लामो समयदेखि त्यहाँ सञ्चालन हुँदै आएको अव्यवस्थित बजारका कारण ट्राफिक जाम, फोहरमैला व्यवस्थापनमा समस्या र सार्वजनिक स्थलको दुरुपयोग हुँदै आएको थियो । तरकारी बजार व्यवस्थित गर्न महानगरपालिकाले व्यवस्थित बजार निर्माण गरेर संचालनको लागि ठेक्कामा दिइसकेको छ । 

छपकैयास्थित रेल्वे रोड छेउमै नयाँ स्थानमा तरकारी बजार सञ्चालनमा आइसके पनि वीपी उद्यानका तरकारी व्यवसायीहरू नयाँ स्थानमा सर्न मानेका छैनन् ।   

महानगरपालिकाले छपकैयास्थित रेल्वे रोड छेउमा करिब ७० लाख रुपैयाँको लागतमा ३० वटा सटरसहित सुविधा सम्पन्न थोक तरकारी तथा फलफूल बजार निर्माण गरी गत आइतबारदेखि सञ्चालनमा ल्याएको छ । 

बीपी उद्यानबाट हटाइएका व्यवसायीहरूलाई यही नयाँ बजारमा स्थानान्तरण गर्ने योजनासहित थोक तरकारी तथा फलफुल बजार संचालनमा ल्याइएको महानगरपालिकाको भनाइ छ । 

बजारलाई स्थानान्तरण गर्न व्यापारीहरुबीच पहिला नै सहमति भइसकेको अवस्थामा आफ्नो इच्छाले बजार स्थानान्तरण नगरेपछि मात्रै महानगरपालिकाले डोजर चलाएर खाली गराएको जनप्रतिनिधिहरुको भनाई छ । महानगरपालिकाले व्यवस्थित गरेको ठाउँमा बजार संचालन गर्न आग्रह गरिएको छ । 

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update