रुपन्देही । चितवनबाट भैरहवा ल्याइएका खगेन्द्रप्रसाद र रुद्रकली हात्तीलाई बुधबार साँझ कतार पठाइएको छ । भैरहवास्थित गौतमबुद्ध अनतर्राष्ट्रिय विमानस्थलमा दुबै हात्तीलाई सयपत्रीको माला र अबिरले बिदाई गरिएको हो । दुवै हात्तीलाई चितवनबाट पनि विशेष समारोहका बीच बिदाई गरिएको थियो ।
बुधवार भैरहवा विमानस्थल आइपुगेको कतार एयरवेजको बोइङ ७७७ जहाजले चितवनबाट भैरहवा ल्याइएका खगेन्द्रप्रसाद र रुद्रकली हात्तीलाई लिएर साँझ साढे पाँच बजे कतार उडेको छ ।
हात्ती हस्तान्तरणका लागि विमानस्थलमा उपस्थित सरकारी अधिकारी र संरक्षणकर्मीले खगेन्द्रप्रसाद र रुद्रकलीको नयाँ घरमा सुःखको बास होस भनेर कामना गरे । वन मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले हात्ती बिदाई गर्दा छोरी अन्माएजस्तै महशुष भएको बताए ।
दुबै हात्तीलाई नयाँ घरको बास सुखद बनोस् र सन्तान बृद्धि होस भनेर शुभकामना दिए । हात्ती दान नेपाल र कतारबीच गहकिलो सम्बन्धको प्रमाण पनि भएको जनाउँदै मुलुकले पहिलोपटक हात्ती उपहार दिएको हो । हात्ती हुर्काउन योगदान गर्ने माहुतेदेखि कर्मचारी र चितवनका स्थानीय धन्यवादको पात्र भएको उनको भनाई छ ।
नेपालबाट जाने दुई माहुते र एकजना भेटनरी प्राविधिकले एक महिनासम्म कतारमै बसेर हात्तीको स्याहार–सुसार र रेखदेखबारे त्यहाँका कर्मचारीलाई सिकाउने छन् । परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले बुधबार साँझ बिदाई गरिएका हात्तीले बिहीबार कतारको राष्ट्रिय दिवसका दिन कतारी जमिन टेक्ने बताए ।
बुधबार रातिबाट कतार खगेन्द्र र रुद्रकलीको नयाँ घर हुने छ । हात्ती उपहार दिनुले नेपाल र कतारबीच हात्तीजस्तै बलियो सम्बन्ध रहेको प्रष्ट भएको उनले बताए । कतारी दूताबासका डेपुटी चिफ अफ मिसन खालिफा अन्मारीले हात्ती उपहार दिएकोमा नेपाल सरकारलाई धन्यवाद दिए ।
हात्ती हस्तान्तरण गर्नुपूर्व कतारमा रहेको चिडियाखाना पुगेर नेपाली प्राविधिक टोलीले अध्ययन गरेको थियो । उक्त टोलीले हात्ती राख्न सकिने रायसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनको परिधिमा रहेर हस्तान्तरण गरिएको हो ।
७ वर्षीया रुद्रकली सन २०१८ मा जन्मिएको हो भने ६ वर्षको खगेन्द्र सन् २०१९ मा खोरसोर प्रजनन केन्द्रमा जन्मिएको थियो । निकुञ्ज विभागका अनुसार कानुन बमोजिम साइटिस प्रमाणपत्र, स्वास्थ्य सम्बन्धि प्रमाणपत्र जारी गर्ने लगायतका आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर दुबै हात्तीलाई कतारको दोहा पठाइएको हो ।
हस्तान्तरण कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक चिरञ्जिवी पोखरेल, राष्ट्रपति चुरे संरक्षण कार्यालयका प्रमुख, प्रमुख जिल्ला अधिकारी, वन कार्यालयका प्रमुख, सुरक्षा प्रमुख र कतारी दूतावासका प्रतिनिधि सहभागी थिए ।
