सर्लाही । पाँच महिनादेखि तलब नपाएमछि सर्लाहीको बसबरिया गाउपालिकाका शिक्षक, कर्मचारी आन्दोलित भएका छन् । तलब माग गर्दै गाउँपालिकामा कार्यरत कर्मचारी बुधवारदेखि अनिश्चितकालिन धर्नामा बसेका हुन ।
पटक पटक गाउपालिका अध्यक्ष र उपाध्यक्षलाई हारगुहार गरेपनि समस्या समाधान नभएको भन्दै अन्ततः आक्रोशित कर्मचारी धर्नामै उत्रिएका हुन् ।
सर्लाहीको बसबरिया गाउँपालिकाका कर्मचारी, शिक्षकदेखि स्वास्थ्यकर्मीहरु पारिश्रमिक नपाएपछि अनिश्चितकालिन धर्नामा बसेका छन् ।
साउन महिनादेखि नै आफुहरुले तलब नपाएको कारण बाध्य भएर धर्नामा बस्नु परेको श्री त्रिभुवन मा.वि.मानपुरका प्रधान अध्यापक चन्द्रकिशोर यादव बताउछन् । तलब माग गर्दै आफुहरुले असोज महिनामै ज्ञापन पत्र बुझाएको उनले बताए ।
पटक पटक गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई हारगुहार गरेपनि समस्या समाधान नभएकाले आन्दोलन नरोकिने प्रधानअध्यापक यादवको भनाई छ ।
आर्थिक वर्ष २०८२। ०८३ को गाउँसभा नभएको कारण ५ महिना देखि आफुहरुले तलब नपाएको बसबरिया गाउपालिका स्वास्थ्य शाखाका कर्मचारी विजय यादवले बताए ।
आउदो समयमा पनि गाउँसभा कहिले र कसरी हुने भन्ने टुंगो नभएपछि तलबको लागि गाउँपालिकामा कार्यरत सम्पुर्ण कर्मचारीहरु आन्दोलन गर्न बाध्य भएको उनको भनाई छ ।
स्थानीय सरकार संचालन ऐन अनुसार असार भित्र गाउँसभा सम्पन्न भईसक्नुपर्ने भएपनि हालसम्म गाउँसभा बसेको छैन । यही कारण आफुहरु ५ महिनादेखि तलबबिहिन बनेको गाउँपालिका प्रशासन शाखा प्रमुख सुमित कुमार सिंहले बताए ।
विभिन्न चरणमा तलबको लागि ज्ञापनपत्र बुझाएपनि गाउँसभा हुने यकिन हुन नसकेपछि आफुहरु धर्नामा बसेको उनको तर्क छ । ५ महिना देखि तलब नपाउँदा आफुहरुलाई हातमुख जोड्न समेत समस्या भईरहेको श्री पञ्चायत आर्दश माविमा कार्यरत शिक्षिका बालकुमारी अधिकारी बताउछिन् । तलब नपाउँदा कोठा भाडा तिर्न र खान लगाउन समेत समस्या उनले दुखेसो पोखिन् ।
५ महिना देखि काम गरेको पैसा नपाउनु दुखद रहेको बसबरिया गाउपालिकाकी उपाध्यक्ष सरिता देवी बताउँछिन् । गएको भदौमा नै आफुहरुले बन्द सत्र शुरु गरेर बजेट ल्याउन प्रयास थालेको बसबरिया गाउपालिकाका अध्यक्ष राम सिंहासन रायले फोनमार्फत जानकारी गराए ।
उच्च अदालत जनकपुरले गाउपालिकाकी उपाध्यक्ष सरिता देवीको सहभागिताबिना बजेट, योजना र राजश्व प्रस्ताव सम्बन्धी नगर्न आदेश दिएकाले आफूहरुसँग स्पष्ट बहुमत हुदाहुदै गाउँसभा गरि बजेट ल्याउन नसेकेको र अदालतबाट अन्तिम किनारा लागेपछि गाउँपालिकाको सम्पुर्ण कामकाज पुर्णरुपमा संचालनमा आउने अध्यक्ष रायको जानकारी दिए ।
करिब २ सय कर्मचारी कार्यरत रहेको गाउँपालिकाका कर्मचारी आन्दोलित भएपछि, गाउपालिकाको कार्यालय, विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय लगायतमा आकस्मिक सेवा बाहेकका सबै सेवाहरु पूर्णरुपमा ठप्प भएका छन् ।
