काठमाडौं । बागमती प्रदेश सरकारको पहिलो कार्यकालमा निर्माण सुरु गरेर सम्पन्न भैसक्दा पनि अलपत्र अवस्थामा रहेका भ्युटावरहरु सञ्चालनमा ल्याउन थालिएको छ । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा नआएका भ्युटावर, हिलस्टेशन र सामुदायिक भवनहरुको सञ्चालनमा अहिले प्रदेश सरकारले तदारुकता देखाएको छ ।
बागमती प्रदेश सरकारको अघिल्लो कार्यकालमा प्रदेशका ९ जिल्लामा ११ वटा भ्युटावरको शिलान्यास गरिएको थियो । राज्यकोषको ३२ करोड ८४ लाख ३ हजार ३ सय ३९ रुपैयाँ खर्च गरेर निर्माण भएको भ्यु टावरहरु वर्षौंसम्म अलपत्र अवस्था बसे ।
बागमतीको मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, चितवन, रामेछाप, सिन्धुली, धादिङ र दोलखा गरी ९ जिल्लामा ११ वटा भ्युटावर निर्माण भएका थिए । यसरी निर्माण सम्पन्न पश्चात् पनि अलपत्र अवस्थामा रहेका ती भ्युटावरहरु सञ्चालनमा ल्याउन प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले तदारुकता देखाएको छ ।
जसअन्र्तगत मकवानपुरको थाहा नगरपालिका–९ देउरालीमा निर्माण गरिएको भ्युटावर उद्धघाटन गरेर थाहा नगरपालिकालाई हस्तान्तरण गरिएको छ । प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ र प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले नवनिर्मित भ्युटावरको उद्घाटन गरेका हुन् ।
चन्द्रागिरीमा रहेको भ्युटावरबाट काठमाडौँको अवलोकन गर्न सकिनेछ । भ्युटावरको उद्धघाटन गर्दै प्रदेशका पर्यटन मन्त्री श्रेष्ठले भ्युटावर हस्तान्तरण गर्ने कार्यलाई मन्त्रालयले तीव्रता दिइरहेको बताए । निर्माण सम्पन्न भएर अलपत्र अवस्थामा रहेका हिल स्टेशन र कम्युनिटी हल जस्ता पर्यटकीय संरचना सञ्चालनमा ल्याइएको मन्त्री श्रेष्ठको भनाइ छ ।
प्रदेश सरकार गठन भएदेखि नै बागमती प्रदेश सरकारले विभिन्न स्थानमा पर्यटकीय पूर्वाधार निर्माणको काम सुरु गरेको थियो । सोही क्रममा निर्माण सम्पन्न भइसकेका कतिपय पर्यटकीय पूर्वाधार सञ्चालनको अभावमा अलपत्र परेपछि संस्कृति तथा पर्यटन मन्त्रालयले कार्यविधि तयार गरी ती पूर्वाधार स्थानीय तहलाई सञ्चालनको जिम्मा लगाउने निर्णय गरेको हो । पछिल्लो समय भ्युटावर अनावश्यक भएको भन्ने बहस चलिरहँदा यसलाई पर्यटन आकर्षण गर्ने केन्द्रका रूपमा हेर्नुपर्ने मन्त्रालयका सचिव दीपेन्द्र सुवेदी बताउँछन् ।
यता, थाहा नगरबाटै काठमाडौँको अवलोकन गर्न मिल्ने भ्युटावर सञ्चालनमा आएपछि थाहा नगरलाई पर्यटकीय हबको रुपमा विकास गर्न थप मद्दत पुग्ने स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ । मन्त्रालयले निर्माण सम्पन्न गरेर थाहा नगरपालिकालाई हस्तानतरण गरेपछि अब यसको सञ्चालनको जिम्मा नगरपालिकाले लिएको छ ।
यसलाई व्यवस्थापन तथा सञ्चालनका लागि अबको केही दिनमै टेण्डर खुलाउने थाहा नगरपालिका प्रमुख विष्णु विष्टले बताए । प्रदेश सरकारले ‘चित्लाङ हिलस्टेसन प्याकेज कार्यक्रम’ अन्तर्गत भ्युटावर निर्माण कार्य थालेको थियो । उक्त भ्युटावरमा क्रियसन हल, रिटेनिङ वाल, गेट, गार्ड हाउस र सपोर्ट फेसिलिटी निर्माण गरिएको छ । उक्त संरचना निर्माणका लागि दुई चरणमा गरी कुल ५ करोड २७ लाख ४७ हजार ८ सय ५२ रुपैयाँ खर्च भएको छ ।
यो सँगै बागमती प्रदेशका निर्माण भएका ४ वटा भ्यु टावरहरु स्थानीय तहलाई हस्तानतरण गरिसकिएको छ भने बाँकी संरचनाहरु पनि हस्तान्तरणको क्रममा रहेको बताइएको छ ।
