ओखलढुङ्गा । दुर्गम भूगोल, जोखिमपूर्ण सडक यात्रा र वर्षौँको अनियमित हवाई सेवाको पीडा भोग्दै आएका ओखलढुंगाका बासिन्दाका लागि रुम्जाटार विमानस्थल फेरि आशाको केन्द्र बनेको छ । एक समय सुनसान र घुमफिर तथा टिकटक बनाउने थलोमा सीमित भएको यो विमानस्थलमा अब नियमित जहाज अवतरण हुन थालेसँगै जिल्लाको आवागमन, स्वास्थ्य सेवा र समग्र जनजीवनमा सकारात्मक परिवर्तन देखिन थालेको छ ।
पछिल्लो पाँच वर्ष अघिसम्म ओखलढुंगाको एकमात्र रुम्जाटार विमान स्थल सुनसान थियो । विमान अवतरण र उडानका लागि कालोपत्रे गरिएको धावनमार्ग, अन्य भौतिक संरचना र आवश्यक उपकरण समेत भएर पनि विमान आउन सकेन । जसका कारण यो विमानस्थल आगन्तुकको घुमफिर गर्ने, फोटो खिच्ने र टिकटक बनाउने थलो बनेको थियो । तर अहिले यो विमानस्थल निकै ब्यस्त हुन थालेको छ । नेपाल एयरलाइन्सले हप्तामा २ पटक काठमाण्डौ—ओखलढुंगा—काठमाण्डौ उडान भर्न थालिएपछि विमानस्थलमा चहलपहल बढेको हो ।
दुर्गम भौगोलिक बनावटका कारण ओखलढुंगामा सडक यात्रा अझै पनि जोखिमपूर्ण र कष्टदायी छ । वर्षायाममा पहिरो र हिउँदमा धुलाम्मे सडकले यात्रुलाई सास्ती दिने गरेको अवस्थामा हवाई सेवा यहाँका नागरिकका लागि सहज मात्र होइन, बैकल्पीक र भरपर्दो रूपमा समेत लिन सकिन्छ । पछिल्लो समय उडान पुनः नियमित भएपछि जिल्लाको समग्र आवागमन नै सहज बन्ने विश्वास लिइएको छ ।
ओखलढुंगाका लागि हवाई सेवाको सबैभन्दा संवेदनशील र महत्वपूर्ण पक्ष स्वास्थ्य सेवा हो । जोखिमपूर्ण सडक सञ्जालका कारण गम्भीर प्रकृतिका बिरामीलाई समयमै काठमाण्डौ पु¥याउनु यहाँ सधैं चुनौतीपूर्ण रहँदै आएको छ ।
नियमित विमान उडान हुन थालेपछि भने जिल्लाका अस्पतालहरुबाट काठमाडौं रेफर गरिने आकस्मिक तथा जटिल अवस्थाका बिरामीलाई अब हवाई सेवामार्फत छिटो र सुरक्षित रूपमा राजधानी पु¥याउन सहज भएको छ । यसअघि नियमित जहाज नहुँदा बिरामी बोकेर घण्टौंसम्म जोखिमपूर्ण सडक यात्रा गर्नुपर्ने वा महँगो हेलिकप्टर सेवा लिनुपर्ने अवस्था थियो । अब भने नियमित उडानले आपतकालीन उपचारमा समयमै पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।
नियमित हवाई उडानले ओखलढुंगालाई राजधानीसँग जोड्ने दूरी मात्र घटाएको छैन, स्वास्थ्य, पर्यटन र आर्थिक गतिविधिलाई पनि नयाँ गति दिएको छ । अब यो सेवा दीर्घकालसम्म निरन्तर र विश्वसनीय रूपमा सञ्चालन हुन सकेमा रुम्जाटार विमानस्थल ओखलढुंगाको विकासको मेरुदण्ड बन्ने स्थानीयको विश्वास छ ।
