News 24 Television
बढ्यो शितलहर, विपन्न समुदाय प्रभावित

सप्तरी । लगातारको बाक्लो हुस्सु लाग्नुका साथै चिसो बढेपछि सप्तरी सहित तराईका जिल्लाहरुमा सर्वसाधरणको दैनिकी असहज बनिरहेको छ । चिसोको कारण गरिब, दलित तथा विपन्न परिवारका सदस्यहरु बढी प्रभावित भएका छन् । गरिब तथा विपन्न समुदायलाई आफ्नो लागि जिल्लाको विपद् ब्यवस्थापन समितिले चासो नदिएको गुनासो बढेको छ । 

पुष लागेसँगै तराइमा शितलहर चलेको छ । पछिल्लो १५ दिनदेखि सप्तरी लगायत तराईका जिल्लामा निरन्तर बाक्लो हुस्सु र चिसो हावा चलिरहेको छ । यद्यपी स्थानीय सरकार वा जिल्ला विपद व्यवस्थापन समितिले चासो दिएको देखिदैन । 

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ रमपुरा मल्हनियाँमा सडक पेटीमा बसेर काम गर्ने मरिक समुदाय झुप्रो मुनि बस्दै आएका छन् । जाडोमा दिनभरि चिसो हावाले घरमा समेत उनीहरुलाई सताउने गरेको छ । शितलहरमा चिसो छल्न न्यानो कपडा नहुँदा उनीहरू परालको आगो तापेर रात कटाइरहेका छन् । दैनिकी ज्यालादारी काम  गरेर जिविकोपार्जन गर्दै आएका उनीहरूको बच्चाहरूको अवस्था झनै पीडादायी छ ।  

आफुहरु जसरीतसरी शितलहरमा जीवनयापन गरेपनि बच्चाहरूको चिन्ताले झन सताउने गरेको उनीहरुको दुखेसो छ । तर आर्थिक अवस्था एकदमै दयनीय रहेकोले अरूकै सहारामा बाँच्नुपर्ने बाध्यता उनीहरुको छ ।  

शितलहरले पिरोलेको यो समुदाय एउटा प्रतिनिधिपात्र मात्र हुन् । उनीहरु जस्ता विपन्न समुदाय सप्तरीको सबै पालिकामा छन् । 

शितलहर अत्याधिक बढेपछि सप्तरीका अधिकांश स्थानीय तहले विद्यालयहरूमा विदा गरेका छन् । तर स्थानीय तह वा जिल्ला विपद् व्यवस्थापन समितिले विपन्न समूदायका लागि कुनै योजना अघि सारेका छैनन् । चिसो बढेपछि इ–रिक्सा चालकहरुले आफ्नै पहलमा चोक चोकमा दाउरा वितरण गरेका छन् । 

सप्तरीलगायत तराईका जिल्लामा चिसोले कठ्याङ्ग्रिएर हरेक वर्ष थुप्रैले ज्यान गुमाएका छन् । त्यसैले चिसोबाट जोगिन स्थानीय सरकारले तत्कालै विशेष योजना ल्याउन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update