रुपन्देही । आवश्यक पूर्वाधार, सबल प्राविधिक पक्ष र सम्भावना हुँदैहुँदै पनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्दै मुख्यममन्त्री, मन्त्री, कर्मचारी र निजी क्षेत्रले एउटै मंचबाट दुखेसो पोखेका छन् । बुधबार भैरहवास्थित विमानस्थल परिसरमा नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औं स्थापना दिवस समारोहमा बोल्दैं उनीहरुले यस्तो दुखेको पोखेका हुन् ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्दै मुख्यममन्त्री, मन्त्री, कर्मचारी र निजी क्षेत्रले एउटै मंचबाट दुखेसो पोखेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पटक–पटक विमानस्थल चलाउनुपर्छ भनेर संघीय सरकारको ध्यानाकर्षण गराउनेदेखि डेलिगेसन गए पनि सोंचेजस्तो परिणाम नआएको बताएका छन् ।
विमानस्थल नियमित सञ्चालनका लागि प्रदेश सरकारले कति जिम्मेवारी लिनुपर्ने हो र कस्तो भूमिका खेल्नुपर्ने हो स्पष्ट पार्न पनि मुख्यमन्त्रीले आग्रह गरे । संघीय सरकारले दिने भूमिका अनुसार काम गर्न तयार रहेको उनले बताए । यस्तै, उनले बाह्य मुलुकसँग कुटनीतिक पहल गर्न पनि संघ सरकारसँग आग्रह गरे ।
मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा जस्तोसुकै जहाज उडान–अवतरण हुने क्षमता रहेको जनाउँदै नियमित संचालन नहुँदा यस क्षेत्रका व्यवसायी संकटमा पुगेको मुख्यमन्त्रीले बताए ।
लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले प्रदेश सरकारले निरन्तर पहल गरिरहेकाले विमानस्थल छिट्टै नियमित संचालनमा आउने विश्वास व्यक्त गरे ।
उनले नीजि क्षेत्रको लगानी सुरक्षित गर्नुपर्नेमा समेत जोड दिए । विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिसोर साहले २०७९ जेठ २ गतेबाट सञ्चालनमा आएको विमानस्थलबाट नियमित उडान सञ्चालन नहुँदा निराशा छाएको बताए । सरकारले भैरहवालाई कार्गो हब बनाउने नीति लिए पनि कार्यान्वयन हुन नसकेको उनले बताए ।
विमानस्थलबाट नियमित उडान सञ्चालनका लागि सरकारलाई अनुरोध गर्नेदेखि कुटनीतिक पहल भइरहेकाले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको संख्या बृद्धि हुने उनले बताए । त्रिभुवन विमानस्थलभन्दा सुविधा र प्रविधिका हिसावले गौतमबुद्ध विमास्थल एक कदम अगाडि रहेको जनाउँदै नियमित उडानका लागि पहल जरुरी रहेको उनले जनाए ।
सिद्धार्थ सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले नियमित उडानका लागि बारम्बार दबाब र आन्दोलनका कार्यक्रम गरे पनि सुनुवाई नभएको गुनासो गरे ।
अनिलकुमार ज्ञवाली, अध्यक्ष, सिद्धार्थ संजाल, रुपन्देही
विमानस्थलका अनुसार पछिल्लो समय गत कार्तिक ९ गतेबाट थाइ एयर एसियाले भैरहवा–बैंकक सातामा दुई दिन उडान भरिरहेको छ ।
त्यसबाहेक नेपालले कतार सरकारलाई उपहार प्रदान गरेका दुई हात्तीलाई पनि कतार एयरवेजको जहाजमार्फत् भैरहवाबाटै पठाइएको थियो । तर, छुट सुविधा दिँदा समेत भैरहवाबाट उडान भर्न अन्तर्राष्ट्रिय विमान कम्पनी आकर्षित हुन सकेका छैनन् । निजी क्षेत्रले नियमित उडानका लागि सरकारले पहल नगरेको आरोप लगाउँदै आएको छ ।
