News 24 Television
एमबीबीएस पढ्न गरिबीले रोक्न खोज्यो, मेहनतले जित्यो

सप्तरी । कक्षा ११ पढ्दासम्म सप्तरीका ओमप्रकाश दासलाई एमबिबिएस बारे थाहै थिएन । तर उनै ओमप्रकाशले एमबिबिएस पढ्न पुर्ण छात्रवृत्तिमा नाम निकालेका छन् । दलित समुदायका उनको आर्थिक अवस्था दयनीय छ । यही कारण एमबिबिएस पढ्न होस्टेल फिसदेखि कपी किताबको खर्च कसरी धान्ने भन्ने चिन्ताले उनलाई पिरोलेको छ । 

उनी हुन सप्तरीको बोदेबरसाइन नगरपालिका –१० खडकपुरको गरिब परिवारमा जन्मेका ओमप्रकाश दास । दलित समुदायमा जन्मेका उनी अहिले एमबिबिएसमा पुर्ण छात्रवृत्तिमा नाम निकालेर समाजको लागि उदाहरणीय बनेका छन् । गाउँ नजिक रहेको आधारभूत राष्ट्रिय प्राथमिक विद्यालय खडकपुरबाट आठ कक्षासम्म र श्री ५ महेन्द्र चुनी माध्यमिक विद्यालय मानराजाबाट उनले एसईई पढाइ गरे । 

२०७७ सालमा एसईई पास गरेर सिरहाको लहानस्थित एक निजी कलेजमा +२को पढाइ सकाए । यतिबेलासम्म उनले एमबिबिएस पढ्नेवबारे सोचेका पनि थिएनन् । साथीहरुबीच कलेजमा छलफल हुँदा उनले एमबिबिएसमा धेरै पैसा लाग्ने भएकाले एचए पढ्ने सोच बनाएका थिए । 

तीन बर्षदेखि एमबिबिएस तयारी गर्दै आएका उनी तीनपटक नाम निकाल्न असफल भए । तर पनि उनले प्रयास छोडेनन् । अन्ततः चौथो प्रयासमा उनले छात्रवृत्तिमा नाम निकाल्न सफल भए । विद्यालय जीवन पनि ओमप्रकाशको सहज थिएन । दैनिक ज्यालादारी गर्दै उनका बुबाआमाले उनलाई १२ सम्म पढाएका थिए । त्यसैले पनि ओमप्रकाशले सपनामा सोचेका थिएनन् एमबीबीएस पढ्ने भनेर । 

अहिले उनै ओमप्रकाशले चौथो पटकको प्रयासमा एमबीबीएस अध्ययनका लागि छात्रवृत्तिमा नाम निकालेपछि उनका बुबा रामकिसुन दास असाध्यै खुशी भएका छन् । तर छोराको छात्रबृत्तिबाहेकको अन्य खर्च कसरी धान्ने भन्ने चिन्ताले उनलाई सताएको छ ।

पूर्ण छात्रवृत्तिमा नाम निकालेपनि होस्टेल शुल्क, भर्ना र किताबको खर्च भने आफै जोहो गर्नु पर्छ । यसका लागि उनले एक लाख रुपैयाँ ऋण लिएका छन् । अब भर्ना शूल्क बाहेक होस्टलमा मासिक १५ हजार रुपैयाँ थप लाग्छ । त्यसबाहेक किताव र कपीको थप खर्च छँदैछ । यस्ता खर्च कसरी जुटाउने भन्ने ओमप्रकाशका बुबाले सोच्नै सकिरहेका छैनन् ।

अत्यन्तै गरिब र सिमान्तकृत परिवारबाट एमबिबिएसमा नाम निकालेका ओमप्रकाश मेहनत र साहसको पर्याय बनेका छन् । अब उनको थप अध्ययनका लागि राज्यदेखि विभिन्न संघसंस्था तथा दाताहरु पनि उदार बन्नुपर्छ । 

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update