News 24 Television
तलब, भत्ता र सुविधाविनै जनताको सेवामा समर्पित २ जनप्रतिनिधि

मकवानपुर । पछिल्लो समय जनताले मत दिएर जिताएका कतिपय जनप्रतिनिधिहरू भ्रष्टाचार, राज्यकोषको दुरुपयोग र अकुत सम्पत्ति आर्जनमा लिप्त भएको आरोप खेपिरहेका छन् । तर यस्तो नकारात्मक उद्धाहरणको भीडमा मकवानपुरका दुई जनप्रतिनिधि यस्ता छन्, जो  तलब र सेवा सुविधा नलिइकनै पनि जनताको सेवामा सक्रिय छन् ।

२०७९ को स्थानीय पालिका निर्वाचनका क्रममा मतदाताको घर–आँगनमा पुगेर मत माग्दै गर्दा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले जनताको करबाट प्राप्त हुने कुनै पनि सरकारी सेवा–सुविधा नलिने प्रतिबद्धता व्यक्त गरेका थिए । 

उनको यही प्रतिबद्धताले मतदाताको मन जित्यो र उनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । कार्यकालको चौथो वर्ष चलिरहँदासम्म पनि उनले राज्यकोषबाट प्राप्त तलब, भत्ता तथा सवारी सुविधा लिएका छैनन् । अध्यक्ष निर्वाचित हुनु अघिदेखि नै उनले चढ्दै आएको बागमती प्रदेश ०१–०२७ च ५२९९ नम्बरको फरच्युनर गाडी नै प्रयोग गर्दै आएका छन् । 

उनले नलिएको तलब र भत्तावापतको रकम व्यक्तिगत खातामा होइन, गाउँपालिकाको कोषमा जम्मा गर्दै आएका छन् । सो रकम विपन्न परिवारका लागि घर निर्माण, विद्यार्थीहरूका लागि शैक्षिक सामग्री वितरण तथा सामाजिक सहयोगका विभिन्न कार्यक्रममा खर्च भइरहेको छ । 

त्यसोत, मकवानपुरकै इन्द्रसरोवर गाउँपालिका–२ नम्बर वडाका वडाअध्यक्ष सुमन श्रेष्ठले पनि सरकारी सेवा सुविधा त्यागेर जनताको सेवामा समय खर्चिरहेका छन् । 
अत्यावश्यक काम बाहेक हरेक दिन कार्यालय समयमा आफ्नै कार्यकक्षमा भेटिने अध्यक्ष श्रेष्ठले पनि सरकारी तलब, भत्ता र सवारीको सुविधा लिएका छैनन् । 

उनले पनि आफ्नै सवारी प्रयोग गरिरहेका छन् । अझ उनले त आफ्नो सुजुकी ब्राण्डको गाडीले कहिले विद्यार्थी बोक्छन् भने कहिले बिरामीलाई अस्पतालसम्म पु¥याउन समेत प्रयोग गर्दै आइरहेका छन् । 

तलब भत्ता वापतको रकम उनकै खातामा जम्मा हुन्छ । जुन रकम विद्यार्थीको लागि न्यानो कपडा, शैक्षिक सामाग्री वितरणदेखि वडामा रहेका बिरामीहरुको स्वास्थ्य उपचारमा समेत उनले खर्चदै आएका छन् । 

पछिल्लो समय राजनीति जनसेवाभन्दा सुविधा र स्वार्थसँग बढी जोडिँदै गएको आरोप लागिरहँदा मकवानपुरका यी दुईजना जनप्रतिनिधिको फरक अभ्यासमार्फत् नेतृत्वको अर्थ पुनः परिभाषित गरिरहेका छन् । 

यी दुवै अध्यक्षले चुनावी प्रचारका क्रममा व्यक्त गरेको प्रतिबद्धतालाई सत्ता र शक्तिको केन्द्रमा पुगेपछि पनि बिर्सेनन् । तलब, भत्ता र सरकारी सुविधा त्यागेर जनताको सेवामा समर्पित उनीहरूको भूमिकाले स्थानीय तहको राजनीतिमा आशा र भरोसाको नयाँ किरण देखाएको छ । 

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update