News 24 Television
सुदूरपश्चिमका पालिकामा यस्तो सुविधा, करदाता सेवा कार्यालय शुरु

कैलाली । सुदूरपश्चिम प्रदेशका दुई पालिकामा करदाता सेवा कार्यालयको स्थापना गरिएको छ । कैलालीको टीकापुर नगरपालिका र कैलालीकै जानकी गाउँपालिकाले बिहिवारदेखि करदाता सेवा कार्यालय सञ्चालनमा ल्याएका हुन् । आफ्नै घरआगनमा करदाता सेवा कार्यालय सञ्चालनमा आएपछि स्थानीयले निकै राहत महशुष गरेका छन् । 

सुदूरपश्चिम प्रदेशको कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा करदाता सेवा कार्यालयको स्थापना गरिएको छ । सरकारले देशभरका ३८ वटा करदाता सेवा कार्यालयहरु हटाएर स्थानिय तहबाट सेवा दिने निर्णय गरे संगै सुदूरपश्चिमका ८८ वटा स्थानिय तह मध्ये कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले करदाता सेवा कार्यालयको स्थापना गरेर आफ्ना नागरिकहरुलाई सेवा दिन सुरु गरेका हुन ।

बिहीवार स्थापना भएको करदाता सेवा कार्यालयबाट स्थानिय तहका नागरिकहरुलाई सेवा लिन सहज हुने स्थानिय तहहरुले विश्वास गरेका छन् । टीकापुरबाट लम्की गएर सेवा लिइरहेका करदाताहरुले अब आफ्नै पालिकाबाट कर सम्बन्धीको सेवा लिन पाउने छन् । 

टीकापुरमा थुप्रै सरकारी सेवाका कार्यालयहरु ल्याएर संचालन गर्ने चाहना रहेको टीकापुर नगरपालिकाका नगर प्रमुखको भनाइ छ ।  कार्यालय सञ्चालनमा आएसँगै स्थानीयले आवश्यक कागजातहरु पु¥याएर आफ्नै पालिकाबाट व्यक्तिगत स्थायी लेखा नम्बर र व्यवसायी स्थाइ लेखा नम्बर लिन पाउने छन् । भ्याट र अन्तशुल्क इजाजत कर चुक्ता लिन भने स्थानीय तहको सिफरिसमा आन्तरिक राजस्व कार्यालय धनगढी जानु पर्नेछ । 

आन्तरिक राजस्व कार्यालय धनगढीसँगको  समन्वयमा बिहीवारबाट करदाता सेवा सुरु भएको जानकी गाउँपालिकाका प्रमुखले बताए ।

स्थानीय तहबाटै करदाता सम्बन्धीको सेवा लिन पाइने भए पछि स्थानीयले खुशी व्यक्त गरेका छन् । टीकापुर र जानकीबाट लम्कीमा रहेको करदाता सेवा कार्यालयमा सेवा लिन जाने गरेका स्थानीय आफ्नै पालिकाको राजस्व शाखाबाट सेवा लिन पाइने भएपछि समयको बचतसँगै टाढा जानु पर्ने झंझटबाट मुक्त भएको बताउँछन् । स्थानीय तहबाटै भ्याट र अन्तशुल्क सम्बन्धीको सेवा विस्तारको अपेक्षा समेत स्थानीयले गरेका छन् । 

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update