रुपन्देही । अनाधिकृत रुपमा सिद्धार्थनगरका बजार क्षेत्रका विद्युतका पोलहरुमा भारतीय व्यवसायी र अस्पतालहरुका विज्ञापनका पर्चा पम्पलेट टाँसिदा बजार क्षेत्र कुरुप देखिएको छ । अनुमती विनै गरिएका यस्ता प्रचार रोक्न स्थानीय पालिकाले ध्यान दिएको छैन । तर यस्ता विज्ञापनहरुे भने आमनागरिकमा भ्रम समेत सिर्जना गरेको भन्दै स्थानीय स्तरमा विरोध शुरु भएको छ ।
सिद्धार्थ नगरपालिकाका मुख्य चोक तथा भित्री गल्लीमा भारतीय व्यवसायीहरुले अनाधिकृत रुपमा आफ्नो विज्ञापन गरिरहँदा नियामक निकायले बेवास्ता गरेको छ । विदेशी कम्पनीले मात्र होइन् स्वदेशी व्यवसायीले समेत सार्वजनिक ठाउँमा आफ्नो व्यवसायको विज्ञापन गर्दा स्वीकृति लिनुपर्छ । तर, विना स्वीकृति भैरहवा बजारमा रहेका पोलहरुमा पर्चा–पम्पलेट टाँसिएको छ ।
सिद्धार्थनगर क्षेत्रमा पर्ने मुख्य राजमार्ग र भित्रि सडक किनारामा रहेका पोलहरुमा धेरै मात्रामा भारतीय र केही नेपाली बिज्ञापन गरिएका पम्पलेट चप्काइएकाले नगरको सौन्दर्यता नै उडेको छ ।
नगरपालिकाको स्वीकृती तथा अनुमती नलिइकन यसरी बिज्ञापन सामाग्री टाँस्न पाइँदैन । तर नगरका हरेक पोलहरुमा अनाधिकृत रुपमा यसरी बिज्ञापन सामग्री टाँस्दा पनि हटाउनेतर्फ नगरपालिकाको कुनै ध्यान गएको छैन ।
यस वारेमा नागरिक समाजले वारम्बार कुरा उठाएर नगरपालिकाका जनप्रतिनिधिदेखि कर्मचारीसम्मलाई ध्यानाकर्षण गराएका छन् । तर नगरपालिका भने मौन बसेको छ ।
नगरपालिका र आसपास क्षेत्रमा यसरी टाँसिएका प्रचार सामाग्री ९५ प्रतिशत भन्दा धेरै पायल्स, फिस्टुला, गुप्तरोग, धातुरोग, हाइड्रोशिल, वावासीर जस्ता स्वास्थ्य समस्या समाधान गरिने भन्दै भारतीय बिज्ञापन सामाग्रीका छन् ।
बिदेशी स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीले यसरी अनाधिकृत रुपमा गरेको प्रचारको वास्तविकता के छ ? भन्ने वारेमा बुझ्ने काम नेपालको प्रशासनिक क्षेत्रबाट समेत हुन सकेको छैन । यस्ता विज्ञापनका कारण धेरै नेपाली ठगिएको आशंका गरिएको छ ।
सम्बन्धित विषयको बिज्ञ बिनाका गैरप्राविधिकले उपचार गर्ने र बिरामीलाई ठग्ने प्रवृत्ती भारतीय सिमावर्ती क्षेत्रमा हुने र स्वघोषित आफूलाई चिकित्सक बताउँदै शल्यक्रियासम्म गरिदिने प्रचलनले बिरामीको अवस्था झन जोखिममा पर्ने गरेको जानकारहरु बताउँछन् । तर, नगर क्षेत्रका पोल तथा सार्वजनिक स्थानमा टाँसिएका पम्प्लेटहरु अवैधानिक भएको थाहा पाउँदा पनि नगरपालिकाले हटाउनतर्फ ध्यान दिएको छैन ।
नगर क्षेत्रका पोलहरुमा भारतीय बिज्ञापन मात्र नभएर स्वदेशकै पनि विभिन्न भाषा शिक्षा तथा बैदेशिक रोजगारीका लागि भन्दै बिज्ञापनका पम्पलेट टाँसिएका छन् । तर, त्यस्ता भाषा कक्षा सञ्चालन गर्ने र बैदेशिक रोजगारीका लागि पठाउने संस्थाको आधिकारिकता वारे कहीँ कतैबाट जाँचबुझ भएको छैन ।
कानूनतः स्वीकृती लिएर गरिनुपर्ने प्रचारप्रसार मनपरी सार्वजनिकस्थलमा गरिँदा समेत नियामक निकायले ध्यान नदिदाँ यस्ता अवैधानिक रुपमा विज्ञापन गर्नेहरुलाई थप बल पुगेको छ भने नगरपालिकाले यस्ता विज्ञापनहरुबाट आम्दानी गर्ने राजश्व समेत गुमाइरहेको छ ।
