News 24 Television
दिनमै ३ पटक पानी बाँढ्ने तयारी, गमगढीबासी दंग

मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा लामो समयदेखि खानेपानीको चरम समस्या झेल्दै गमगढीबासीका लागि अब राहतको संकेत देखिएको छ ।  गमगढी बजारमा खानेपानी सुधार विस्तार आयोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढेसँगै आउँदा दिनमा सहज हुनेमा स्थानीय आशावादी छन् ।

गमगढी बजारमा खानेपानीको अभाव समाधान गर्नको लागी संघीय खानेपानी आयोजना सुर्खेतमार्फत ८ करोड २३ लाख ६९ हजार ९ सय ६७ रुपैयाँ लागतमा गमगढी खानेपानी सुधार विस्तार आयोजना सञ्चालनमा ल्याइएको छ । 

यो आयोजनाअन्तर्गत १४ किलोमिटर टाढाबाट पानीको मुहान ल्याई १ लाख ४५ हजारको चारवटा नयाँ रिजर्भ ट्यांकी निर्माण गरिँदैछ । आर.यु. मैनाली केटीएस जेभीले निर्माणको जिम्मा लिएको यस आयोजनामा मुख्य पाइपलाइन बिछ्याउने काम ५० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । गमगढीमा हाल ५ सय ८६ घरधुरी रहेका छन् । 

गमगढी खानेपानी उपभोक्ता समितिका अनुसार २ लाख ५० हजार घनमिटर क्षमताका रिजर्भ ट्यांकीबाट हाल ४ सय ५० घरधुरीले मात्रै नियमित पानी उपभोग गर्दै आएका छन् ।

बिहान बेलुका यी ट्यांकीबाट २ करोड ५० लाख लिटर पानी बितरण भईरहेको भएपनि आवश्कता अनुसारको पानी पु¥याउन नसक्दा गमगढीबासीले पानीको समस्या झेल्नु परेको हो । विशेष गरी फागुनदेखि जेठ–असारसम्म गमगढीबासीले चरम खानेपानी संकट झेल्दै आएका छन् । धारामा पानी नआउँदा स्थानीय बासिन्दा आधा घण्टा टाढा रहेको कार्कीबाडा र चैनखोलाका ढुंगेधाराबाट पानी बोकेर ल्याउन बाध्य छन् ।   

बजारमा छरपस्ट राखिएका पाइपहरुका कारण सवारी साधन गुडाउन समस्या हुनुका साथै बजारको स्वरुप पनि विग्रिएको स्थानीयको भनाइ छ । अब नयाँ सुधार विस्तार आयोजनाबाट खानेपानी आएपछि सहज हुने स्थानीयको भनाइ छ । गमगढी बजारमा उपभोक्ता कम हँुदा पानीको मुहान र पाईपलाईन सानो थियो । पछिल्लो समय आवादी बढ्दै गएपछि पानीको माग समेत बढेको हो । 

गमगढीबासीलाई हाल बिहान–बेलुका करिब ३ करोड लाख ९५ लाख लिटर पानी आवश्यक पर्ने भएपनि हाल २ करोड  ५० हजार लिटर मात्रै पानी वितरण हुँदै आएको छ । अव नयाँ खानेपानी सुधार आयोजनाले केही महिना पछि उपभोक्ताको माग पुरा हुने गरी दिनमा तीन पटकसम्म प्रत्येक घरधुरीमा पानी वितरण गर्ने लक्ष्य लिएको छ ।  

आयोजना अन्तर्गत छायाँनाथ रारा नगरपालिका–७ स्थित झ्यारी खोलाको मुख्य मुहानबाट  ४ सय मिटर १ सय २५ मिलिमिटर र बाँकी १ सय १० मिलिमिटरका पाइप प्रयोग गरी पानी ल्याइँदैछ । 

कालीका–मालिका मन्दिर नजिक ४५ हजार, ठिनीमा २५ हजार र डिमुखाडामा २५ हजार घनमिटर क्षमताका तीनवटा रिजर्भ ट्यांकी निर्माण हुँदैछन् । 

त्यस्तै कार्कीबाडा मुहानबाट ५० मिलिमिटरको पाइपमार्फत पुरानो खानेपानी कार्यालय परिसरमा ५० हजार घनमिटर क्षमताको ट्यांकी निर्माण गरिने संघीय खानेपानी आयोजना सुर्खेतका सब–इन्जिनियर खगेन्द्र भण्डारीले बताए । 

आयोजना २०८४ असार २४ गतेभित्र सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले आउँदो असार महिनाभित्रै काम सक्ने लक्ष्य लिएको छ । निर्माणको जिम्मा लिएको आर.यु. मैनाली केटीएस जेभीका प्रतिनिधि केशव चौलागाईंले निर्धारित समयभन्दा अघि नै आयोजना सम्पन्न गर्ने प्रयास भइरहेको बताए ।

लामो समयदेखि खानेपानी संकट झेल्दै आएका गमगढीबासीका लागि यो आयोजना सम्पन्न भएपछी दैनिक जीवन सहज हुने र सदरमुकामको खानेपानी समस्या स्थायी रूपमै समाधान हुनेछ । 

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update