मकवानपुर । बालविवाहका कारण किशोरीहरूको भविष्य जोखिममा पर्न थालेपछि मकवानपुरको विकट कैलाश गाउँपालिकाले त्यसको न्यूनीकरणका लागि ‘चेली प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । यो कार्यक्रम सञ्चालन भएसँगै गाउँपालिकामा सानै उमेरमा पढाइ छाड्ने र बालविवाह गर्ने प्रवृत्तिमा परिवर्तन ल्याउन प्रभावकारी भूमिका खेलेको छ ।
१० वटा स्थानीय तह रहेको मकवानपुरको कैलाश गाउँपालिका सबैभन्दा विकट र पिछडिएको गाउँपालिका हो । भौगोलिक विकटताकै कारण कैलाश गाउँपालिकामा अन्य स्थानीय तहमा जस्तो सुविधा पुग्न सकेको छैन । बालबिवाह, अशिक्षा र गरिबी जस्ता प्रमुख समस्याहरु झेल्दै आएको कैलाश गाउँपालिकाले आफ्नो स्थानीय तहलाई समृद्ध बनाउन विभिन्न योजनाहरु बनाएको छ ।
ती योजनाहरुमध्येको उत्कृष्ट योजना हो ‘चेली प्रोत्साहन कार्यक्रम’ । कक्षा १२ सम्मको अध्ययन पूरा गरेर २० वर्ष पूरा भएपछि मात्रै विवाह गरेका चेलीहरुलाई गाउँपालिकाले नगदसहित सम्मान गर्दैै आएको छ । गाउँपालिकाको १७ औँ गाउँसभाको अवसरमा गाउँपालिकाका ७ जना चेलीहरुलाई २० हजार रुपैँया नगद सहित सम्मान पत्रले सम्मान गरिएको थियो । गाउँपालिकाको सम्मानपछि बालबिवाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उत्साहित देखिएका छन् ।
गरिबीको कारण देखाएर बीचमै पढाई छोड्ने तथा सानै उमेरमा बिबाह गरेर बच्चा जन्माउने क्रम बढेपछि स्थानीय जनप्रतिनिधिहरुले बालबिवाह न्यूनीकरणको लागि यो कार्यक्रमको योजना बनाएका हुन् ।
२०७९ मा कार्यविधि तयार गरेर २०८० असारको गाउँसभाबाट चेली प्रोत्साहन कार्यक्रम सुरुवात गरिएको थियो । १२ कक्षा पढेको तथा २० वर्षपछि मात्रै बिबाह गर्नेहरुलाई स्थानीय तहले पुरस्कृत गर्न थालेपछि केही हदसम्म बालबिवाहमा कमी आएको कैलाश गाउँपालिकाका अध्यक्ष लोक मुक्तान बताउँछन् ।
महिला सशक्तिकरण, शिक्षामा पहुँच बढाउन, र बालविवाह जस्ता सामाजिक कुप्रथा न्यूनीकरण गर्ने उद्देश्यले कैलाश गाउँपालिकाले सुरुवात गरेको यो अभियानले महिलाहरुमा प्रोत्साहन सँगै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ । विगत तीनवर्षदेखि सञ्चालनमा रहेको यस कार्यक्रम मार्फत हालसम्म ४२ जना चेलीहरु सम्मानित भएका छन् ।
