News 24 Television
कालिगढलाई बोल्न समेत छैन फुर्सद, सरस्वती मूर्तिको उच्च माग

सर्लाही । सर्लाहीका  विभिन्न स्थानमा यतिबेला कालीगढहरू सरस्वतीको मूर्ति बनाउन व्यस्त छन्  । सरस्वती पूजा नजिकिएसँगै सर्लाहीमा मूर्ति बनाउने कालीगढहरूलाई भ्याइनभ्याई भएको हो । उनीहरु अहिले विद्यालयहरूले दिएको अर्डरअनुसार मूर्ति बनाइरहेका छन् भने कतिपय कालिगढ खोज्दै मूर्ति किन्न आइरहेका छन् ।

माटोका मूर्ति बनाएर जीविकोपार्जन गर्दै आएका सर्लाहीका पण्डित जातिहरू यति वेला सरस्वतीको मूर्ति बनाउनमा व्यस्त  छन् । माटोको विभिन्न मूर्ति बनाउने कुमाललाई  तराई मधेशमा पण्डित पनि भनिन्छ । खास गरी कुमाल जातिको पुर्खौली पेसा भएपनि पछिल्लो समय अन्य समुदायका मानिसले पनि मूर्ति बनाउन थालेका छन् । यस वर्ष बिद्याकी देवी सरस्वतीको पूजा माघ ९ गते परेको छ । 

सरस्वतीको मूर्तिबाट प्रशस्त आम्दानी हुने भएकाले सर्लाहीको मलङवाका कालिगडहरु मूर्ति बनाउन व्यस्त छन् ।  अघिल्ला बर्षभन्दा यसबर्ष विद्यालयहरुमा सरस्वतीको मूर्तिको माग बढी छ । मूर्तिको आकार हेरेर मूल्य तोकिने भएपनि एउटा मूर्तिलाई ४ हजार देखि २० हजार रुपैयाँसम्म पर्छ । 

यहाँका पण्डित कालिगढहरु सरस्वती पूजाबाहेक गणेश पूजा, कृष्ण जन्माष्टमी, विश्वकर्मा पूजा र दुर्गा पूजालगायत पर्वमा मूर्ति बेचेर वर्षको करिब तीन लाखसम्म आम्दानी गर्दछन् । मूर्तिकार शुभलक्ष्मी पण्डितले मूर्ति बेचेर छोरालाइ डाक्टर बनाएका छन् । 

सरस्वतीको मूर्तिको माग बढी आउने भएकाले कालीगढका परिवारका सबै सदस्य काममा लाग्ने गर्दछन् । यो पेसाबाट आफु सन्तुष्ट रहेको मुर्तिकार राम इश्वर पण्डित बताउछन् । 

श्रीपञ्चमी, अर्थात् सरस्वती पूजा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइने महत्वपूर्ण दिन हो । यसलाई वसन्त पञ्चमी पनि भनिन्छ । विशेष गरी शैक्षिक क्षेत्रमा संलग्न भएकाहरूले श्रीपञ्चमी मनाउने गर्दछन् । हरेक वर्ष श्रीपञ्चमीकाक दिन सरस्वतीको पूजा गरिन्छ । 

सरस्वतीको मन्दिर अथवा मन्दिर नभए सरस्वतीको तस्विर राखेर धुमधामसँग शैक्षिक संस्थाहरूले विद्याकी देवी सरस्वतीको पूजा गर्ने प्रचलन छ । यसदिन लेखपढ गर्न सिकाए राम्रो विद्या, बुद्धि र ज्ञान आउने मान्यताका कारण विद्यालय नपठाइएका स–साना बालबालिकाहरुलाई यसैदिनमा अक्षरारम्भ गराउने प्रचलन रहि आएको छ । 

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update