News 24 Television
लुम्बिनीका भिक्षु, व्यवसायी र स्थानीय आक्रोशित, कोषविरुद्ध कडा चेतावनी

रुपन्देही । बद्ध जन्मस्थल लुम्बिनी क्षेत्रका स्थानीय बासिन्दा, व्यवसायी, जनप्रतिनिधि र भिक्षुहरुले आफूहरु लुम्बिनी विकास कोषबाट प्रताडित भएको गुनासो गरेका छन् । उनीहरुले स्थानीयको जनभावना र लुम्बिनी बुझेका पदाधिकारी नियुक्त नहुँदा वर्षौंदेखि पेसा व्यवसाय गर्दै आएका व्यवसायी तथा मजदूरहरु पीडित बनेको जनाए । बिहीबार लुम्बिनीमा उनीहरुले संयुक्त पत्रकार सम्मेलन गरी विकास कोषले आफूहरुको आवाज नसुने प्रतिकारमा उत्रिनेसम्मको चेतावनी समेत दिएका छन् । 

पछिल्लो समय लुम्वीनी विकास कोषले जथाभावी ट्याक्सी पार्किङ र माला विक्रीलाई व्यवस्थित गर्ने भन्दै लुम्बिनी भित्रबाट अन्यत्र सार्न खोजेको छ । तर, स्थानीयले वर्षौदेखि आफूहरुलाई कोषले ठाउँ सारेको सा¥यै गरेको, व्यवसाय गर्ने वातावरण बनाउन नदिएको बताएका छन् । बिहिवार पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री चन्द्र केश गुप्ताले स्थानीयलाई उठिबास लगाउने काम सैह्य नहुने बताए । उनले प्रतिकारमा उत्रिन समेत तयार रहेको चेतावनी दिए । 

राजकीय बौद्ध विहारका भिक्षु सागर धम्मले धर्मस्वामी महाराज बुद्ध विहार, राजकीय बुद्ध विहार भत्काउन र स्थानीयले वर्षौंदेखि मुण्डन गर्दै आएको स्थल सार्न खोजेको भन्दै रोष प्रकट गरे ।

उनले माला व्यवसायीलाई विस्थापित गर्न खोजेको, आध्यत्मिक र धार्मिक गतिविधि नभएको अराोप लगाउँदै कोषमा पदाधिकारीको मनपरी चलिरहेको गुनासो गरे । लुम्बिनी बचाऔं महाअभियानका अध्यक्ष रामविकास चौधरीले विकास कोषले यसअघि आफूहरुसँग गरेको सम्झौता पालना नगरेको जनाए । उनले सम्झौता कार्यान्वयन नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

इ–रिक्सा व्यवसायी फणीन्द्र शर्माले पेसा गरेर खान पनि नदिएर ट्याक्सी र रिक्सा चालकलाई कोषले दुःख दिएर स्थानीयलाई लखेट्न खोजेको बताए । माला व्यवसायी विनोद प्रधानले विकास कोष स्थापना हुनुभन्दा पहिलोदेखि व्यवसाय गर्दै आएका माला व्यवसायीलाई कोषले ठाउँ सारेर हैरानी दिएको जनाए । उनले लुम्बिनी विकास कोष भएको अनभूति नभएको बताए । 

कोषको सकारात्मक सोंच नै नभएको उनको भनाई छ । पर्यटक गाइड राजले मायादेवी मन्दिरको आध्यामिकता नभएको आरोप लगाए । कोषकै कारण आध्यत्मिकता नै हराउँदै गएको उनको चिन्ता छ । पर्यटन व्यवसायी कृष्ण बहादुर गुरुङले लुम्बिनीका नाममा विकास कोषका पदाधिकारी र कर्मचारीले पैसा कमाउन चलखेल गरिरहेको आरोप लगाए । उनले लुम्बिनी प्रबद्र्धनका कार्यक्रम नहुँदा पर्यटन क्षेत्र धरासायी भएको जनाउँदै कोषले लुम्बिनीका बारे राम्रो सोच नै राख्न नसकेको जनाए ।

लुम्बिनी भित्र व्यवसाय गर्दै आएका माला व्यवसायी, ट्याक्सी पार्किङ, मुण्डनस्थल लगायतका विषयमा लामो समयदेखि कोषसँग स्थानीयको विवाद हुँदै आएको छ । कोषले व्यवसाय र पार्किङस्थल सार्दै आइरहेको छ भने स्थानीयले आफूहरुलाई बेवास्ता गरेर पर्यटक नआउने ठाउँमा सार्ने गरिएको गुनासो गर्दै आएका छन् ।

कोषले भने लुम्बिनी भित्रको शान्ति कायम गर्न व्यवसायी र पार्किङस्थल व्यवस्थापन गर्न लागेको जनाएको छ । हाल चार नम्बर गेटको भित्रपट्टी व्यवसायीले माला व्यवसाय र ट्याक्सी चालकले पार्किङ गर्दै आएका छन् । 

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update