कैलाली । कैलालीको टीकापुर नगरपालिका नगर प्रमुख रामलाल डंगौरा थारुले राजिनामा दिएसंगै नगरपालिका अभिभावक विहीन भएको छ । २०७९ सालमा भएको स्थानिय तहको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट विजयी भएका प्रमुख डंगौरा थारुले प्रतिनिधिसभा निर्वाचनमा भाग लिन नगरप्रमुखबाट राजीनामा दिएका हुन् ।
कैलालीको टीकापुर नगरापालिकाका नगरप्रमुख रामलाल डगौराथारू प्रतिनिधिसभाको चुनावी प्रतिस्पर्धामा उत्रिएपछि नगरपालिका नेतृत्वबिहीन भएको छ ।
तत्कालिन माओवादीबाट नगर उपप्रमुखमा विजयी भएका खड्ग बहादुर शाह विरुद्ध तत्कालिन टीकापुर नगर विकास समितिको बोर्ड सदस्य भएको बखत टीकापुर नगर विकास समितिको ६ बिगाह १८ कठ्ठा १० धुर सरकारी जग्गा नक्कली कागजात खडा गरेर व्यक्ती विशेषको नाममा गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरे संगै उप प्रमुख शाह २०८० सालको माघ २५ गते निलम्बनमा परेका थिए ।
नगर प्रमुख डंगौरा नगर प्रमुखको पदबाट राजिनामा दिएर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट कैलाली निर्वाचन क्षेत्र नं.१ मा उम्मेदवार बनेका छन । नगर उप प्रमुख समेत निलम्बिन भएको अवस्थामा नगर प्रमुख रामलाल डंगौरा थारुले दिएको राजिनामाले टीकापुरका बासिन्दा चिन्तित छन ।
जनताले दिएको जिम्मेवारी आधी बाटोमै नगर प्रमुख डंगौराले अलपत्र पारेको उनीहरुको आरोप छ । ५ वर्ष टीकापुरको विकास र समृद्धिको लागी काम गर्ने बाचा सहित स्थानिय तहको निर्वाचनमा मत मागेर विजयी भएका डंगौराले जनताको मतको अबमुल्यन गरेको टीकापुरबासीको आरोप छ ।
नगर प्रमुख नहुँदा घरनक्सा पुनरावेदन, स्थानीय स्वास्थ्य बोर्ड, कार्यपालिकाको बैठक, नगर सभाको बैठक लगायतका थुप्रै कामहरु प्रभावित हुने टीकापुर नगरपालिकाका सूचना अधिकारी देवी प्रसाद आचार्यले बताए ।
पुरा कार्यकालका लागी जनताले मत दिएर निर्वाचित गराएका जनप्रतिनिधीहरुले अधुरो कार्यकालमै राजीनामा दिनु कानूनीरुपमा अवैध ठहरिदैन । तर ५ वर्षका लागि पाएको जनमतलाई लत्याउँदा आम मतदाताप्रति कुठाराघात गरेको मानिन्छ ।
