आृेखलढुङ्गा । आसन्न प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा ओखलढुंगामा पनि चुनावी माहोल तातिँदै गएको छ । गाउँ—गाउँदेखि सदरमुकामसम्म चुनावी बहसले चहलपहल बढाइरहेका बेला जिल्लाको राजनीति भने यसपटक केवल उम्मेदवार चयनमै सीमित छैन ।
लामो समयदेखि जिल्लामा आफ्नो दबदबा बनाएका प्रमुख दलहरूले यसपटक अनुभवी र परिचित नेताभन्दा फरक, नयाँ र अपेक्षाकृत ताजा अनुहारलाई अघि सार्दै परिवर्तनको सन्देश दिन खोजेका छन । ओखलढुंगाको राजनीतिक परिदृश्य यसपटक नयाँ मोडमा प्रवेश गरेको देखिन्छ ।
आसन्न प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको ओखलढुंगाको राजनीतिक समीकरण रोचक बन्दै गएको छ । यसपटक प्रमुख दलहरूले अनुभवभन्दा परिवर्तनलाई प्राथमिकता दिँदा समर्थनसँगै असन्तुष्टि पनि देखिएको छ ।
यसै क्रममा नेकपा एमालेले ३० वर्षिया अस्मिता थापालाई उम्मेदवार बनाएको छ । यस अघि लिखु गाउँपालिकाकी उपाध्यक्ष समेत रहेकी थापाले स्थानीय तहमा सेवा प्रवाह र विकास योजनाको कार्यान्वयनमा सक्रिय भूमिका खेलेको दाबी गर्दै स्थानीय तहको पदबाट राजीनामा दिएर संघीय राजनीतिमा प्रवेश गरेकी हुन । युवा पुस्ताको प्रतिनिधित्व गर्ने नेतृका रूपमा चिनिँदै आएकी थापाले उम्मेदवारी दर्ता पछि स्थानीय अनुभवलाई संघीय संसदमा पु¥याएर जिल्लाका विकासका मुद्दा सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाएकी छन ।
दुई पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित र जिल्लादेखि केन्द्रिय राजनीतिमा बलियो पकड भएका लोकप्रिय नेता यज्ञराज सुनुवारलाई यसपटक टिकट नदिई नयाँ अनुहार अघि सार्नुले नेकपा एमालेको पुस्तान्तरणसँगै रणनीतिक पुनर्संरचनाको संकेत दिएको छ । तर जिल्ला र प्रदेश कमिटीले औपचारिक रूपमा रिफारिस गरेका व्यक्तिलाई पन्छाएर केन्द्रबाटै उम्मेदवार तय गरिँदा पार्टी भित्रको मतभेद खुला रूपमा सतहमा आएको देखिन्छ ।
निर्णयप्रति असन्तुष्टि बढ्दै जाँदा एमालेभित्र आन्तरिक एकता कति मजबुत छ भन्ने प्रश्नसमेत उठ्न थालेको छ । यस्तै प्रकृतिको निर्णय नेपाली कांग्रेसमा पनि देखिएको छ । यसअघि दुई पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामहरी खतिवडालाई यसपटक टिकट नदिई कांग्रेसले कुमार लुइँटेललाई उम्मेदवार बनाएको छ ।
उम्मेदवारी दर्ता गराउने दिन बिहानसम्म खतिवडाले टिकट पाइसकेको भन्दै सामाजिक सञ्जालमा बधाइको ओइरो लागे पनि अन्तिम घडीमा टिकट लुइँटेलको हातमा पुगेको हो ।
कांग्रेसभित्र रामहरी खतिवडाले विशेष अधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवाको पक्षमा उभिएको राजनीतिक पृष्ठभूमिकै कारण टिकट नपाएको बुझाइ व्यापक छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व एआईजी विश्वराज पोखरेललाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ ।
परम्परागत दलहरूप्रति बढ्दो असन्तुष्टि, सुशासन र जवाफदेही राजनीतिलाई मुख्य एजेन्डा बनाउँदै रास्वपाले ओखलढुंगामा वैकल्पिक राजनीतिक शक्तिको रूपमा आफूलाई स्थापित गर्ने प्रयास गरिरहेको छ ।
यस पटकको निर्वाचनमा सबैभन्दा रोचक र अप्रत्याशित राजनीतिक घटनाक्रम नेपाली कम्युनिस्ट पार्टी भित्र देखिएको छ । यसअघि रामकुमार कार्कीले टिकट पाइसकेको अवस्थामा, उम्मेदवारी दर्ताको दिन बिहान मात्रै पार्टी प्रवेश गरेका अम्बिरबाबु गुरुङले अन्तिम घडीमा उम्मेदवारी हात पारे ।
गुरुङ २०७४ सालको आम निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भई कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्रीसमेत भइसकेका अनुभवी नेता हुन । एमालेले जिल्ला र प्रदेश कमिटीबाट सिफारिस भएका उम्मेदवारलाई बेवास्ता गर्दै केन्द्रबाट अर्कैलाई टिकट दिएर जनचाहना विपरित कार्य गरेका कारण आफु दल नै परिवर्तण गर्न बाध्य भएको उनको प्रतिक्रिया छ ।
गुरुङको यस कदमले जिल्लाको राजनीतिक वृत्तमा तरंग ल्याएको छ । नेपाली कम्युनिस्ट पार्टीमा उनको आकस्मिक प्रवेश र उम्मेदवारीले चुनावी प्रतिस्पर्धालाई थप जटिल बनाउँदै दलगत सीमाभन्दा बाहिर गएर मतदाता समीकरण फेरिने सम्भावनालाई बलियो बनाएको विश्लेषण हुन थालेको छ ।
ओखलढुंगामा यसपटक विभिन्न दल र ३ स्वतन्त्र सहित १६ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता सकिएसँगै सबै प्रमुख दलका उम्मेदवारहरू चुनावी अभियानमा व्यस्त छन ।
प्रमुख दलहरूमा देखिएको नयाँ उम्मेदवारीको प्रभाव र मतदाताको अन्तिम निर्णयले यस निर्वाचनको नतिजा कस्तो हुनेछ भन्ने कुरा अझै स्पष्ट छैन । तर यो ओखलढुंगाको राजनीतिक इतिहासमा विशेष चुनावका रूपमा चिनिने देखिन्छ ।
