मकवानपुर । पछिल्लो समय देशभर चुनावी सरगर्मी बढिरहेको बेला हेटौँडामा भने उद्यम प्रवद्र्धनको चहलपहल देखिएको छ । हेटौँडा उपमहानगरपालिका १० मा भने स्थानीय तहको आयोजनामा घरेलु तथा लघु उद्यमीहरूको सीप, उत्पादन र बजार विस्तारलाई प्राथमिकता दिँदै दुईदिने उद्यम मेला सुरु भएको हो । आफ्नै ठाउँमा उद्यमको प्रवद्र्धन र बजारीकरण गर्न पाउँदा उद्यमीहरू उत्साहित देखिएका छन् ।
१९ वटा वडा रहेको हेटौँडा उपमहानगरपालिकाको १० नम्बर वडा कार्यालयको आयोजनामा दुईदिने घरेलु उत्पादन प्रवद्र्धन प्रदर्शनी, नृत्य प्रतियोगितातथा शैक्षिक मेलाको आयोजना गरिएको छ । नगरका १९ वटै वडाका घरेलु तथा लघु उद्यमीहरुले मेलामा स्टल राखेर आफ्ना व्यवसायको प्रर्दशनी र व्यापार गरे ।
न स्टलको शुल्क, न त कार्यक्रम स्थलसम्म आउजाउको खर्च । यो सबै आयोजक १० नम्बर वडा कार्यालयले नै तिरिदिएको छ । यो मेलाले स्थानीयतथा लघु उद्यमीहरूलाई आफ्ना उत्पादन उपभोक्ता समक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ ।
वडा कार्यालयले दिएको यो अवसरबाट उद्यमीहरूलाई आफ्ना वस्तुको ब्रान्डिङ, पहिचान र प्रचार–प्रसार गर्न सहयोग पुगेको उद्यमीहरु बताउँछन् ।
मेलामा हेटौँडा उपमहानगरपालिकाको १९ वटै वडाका उद्यमीहरु सहभागी छन् । उद्यमीले राखेको स्टलमा स्थानीय स्तरमै उत्पादन भएको कृषि सामाग्री, ढाकाको कपडा, हस्तकलाका सामाग्री, काष्ठकलादेखि जातीय पहिचान झल्कने खानेकुरा समेत राखिएको छ ।
नगरपालिकाको साना उद्योग तथा लघु उद्यमीहरुबाट स्थानीय स्तरमा उत्पादीत वस्तुहरुको प्रवद्र्धन तथा प्रदर्शनी गर्ने तथा बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले मेलाको आयोजना गरिएको र मेलाको पहिलो दिन भव्यताका साथ सफल भएको वडाध्यक्ष फुर्वा दोर्जे तामाङ बताउँछन् ।
दुईदिने मेलामा ८० भन्दा बढी स्टल राखिएका छन् । उद्यमीलाई पहिलो प्राथमिकतामा राख्दै सबै क्षेत्रलाई समेट्ने उद्देश्य अनुसार शैक्षिक प्रदर्शनी, नृत्य प्रतियोगिता तथा विभिन्न सम्मान कार्यक्रम आयोजना गरिएको छ ।
मेलामा एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, जेष्ठ नागरिक, अटोमेकानिक मिस्त्री, कौसी खेती गर्ने व्यक्ति तथा उद्यमीहरूलाई एउटै मञ्चबाट सम्मान गरिएको छ । दुईदिने मेला शनिबार साँझ समापन हुनेछ ।
