News 24 Television
पाँच तारेमा स्तरोन्नति हुँदै होटेल सब्रिना

काठमाडौं । होटेल सब्रिना लिमिटेडले सञ्चालन गरिरहेको बुढानिलकण्ठस्थित गणेश चोकमा रहेको सब्रिना अहिले ‘पाँच तारे’ स्ट्यान्डर्डमा स्तरोन्नति भइरहेको छ । एक सय दश वटा कोठासहित सुविधा सम्पन्न होटेलको रुपमा सञ्चालन हुन लागेको यो होटेलले अबको १५ महिनामा स्तरोन्नति सम्पन्न गरिसक्ने लक्ष्य राखेको छ । 

ffff-1770195714.jpg
होटेलका अध्यक्ष निराजन थापाका अनुसार स्तरोन्नतिपछि होटेलमा ३ वटा रेस्टुरेन्ट रहने छन् । रुफटपमा रहने रेस्टुरेन्ट शहरकै सबैभन्दा ठूलो रुफटप रेस्टुरेन्ट मध्येको एक हुनेछ । स्वीमिङ पुल, हेल्थ क्लब, स्पा, जिम लगायतका सुविधा समेत रहेका छन् । स्तरोन्नतिपछि होटेलको व्यवस्थापनमा विश्व विख्यात युरोपियन ब्राण्ड ल्याउने तयारी गरेको कम्पनीले त्यसका लागि प्रारम्भिक सम्झौता समेत भइसकेको जनाएको छ ।

4-1770195780.jpg
आतिथ्य सत्कारमा ठूलो सम्भावना र अवसर रहेको भन्दै अध्यक्ष थापाले स्वदेशी तथा विदेशी पर्यटकलाई उचित मूल्यमा आतिथ्य सेवा प्रदान गर्ने उद्देश्यले आजभन्दा करिब दश वर्षअघि होटेल निर्माण थालेका बताएका छन् । 

होटेलको स्तरोन्नतिका क्रममा पनि होटेल प्रदान गर्दै आएको सेवा बन्द नहुने जनाइएको छ । आवश्यक सुरक्षाका मापदण्ड अपनाएर सेवा प्रभावित नहुने गरि होटेल स्तरोन्नति गरिरहेको अध्यक्ष थापाको भनाइ छ । उनका अनुसार पाँच तारे स्ट्याण्डर्डको होटेल तयार हुँदासम्म होटेलको लागत २ अर्ब पुग्ने अनुमान छ । 

hotel-1770195868.jpg
आईपीओ निष्काशनको तयारी गरिरहेको कम्पनीले जारी पुँजीको ४२ प्रतिशत आईपीओ निष्काशन गर्ने गरि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।  आईपीओको रकम पनि निर्माण कार्यमै प्रयोग हुने जनाइएको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update