मुगु । आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै मुगुमा सुरक्षा निकाय र प्रशासनले तयारी तीव्र बनाएका छन् । जिल्लाभर रहेका मतदानस्थल तथा केन्द्रहरूको स्थलगत अनुगमन गर्दै सुरक्षा अवस्थाको सूक्ष्म मूल्याङ्कन भइरहेको छ । चुनावी सुरक्षा देखि मतदान प्रक्रिया, मतदान केन्द्रमा हुने व्यवस्थापन, भीड नियन्त्रण, अनैतिक गतिविधि तथा सम्भावित धाँधली तथा रोकथाम र नियन्त्रणका उपायबारे जानकारी गराउने उद्देश्यले डेमो समेत प्रर्दशन गरिएको छ ।
मुगुमा नेपाली सेना श्री हनुमानध्वज गुल्म मुगुको आयोजनामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै नमुना मतदान केन्द्रको डेमो प्रर्दशन गरिएको छ ।
नमुना मतदान कार्यक्रममा मतदान केन्द्रमा अपनाइने सम्पूर्ण प्रक्रिया मतदाता प्रवेशदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटीका बुझाउने प्रक्रियासम्मका व्यवहारिक नमुना अभ्यास प्रदर्शन गरिएको छ ।
मुगुमा सुरक्षा एकिकृत रणनिती २०८२ अनुसार नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी गरी १५ सय भन्दा बढी सुरक्षाकर्मिहरुको परिचालन गरिनेछ ।
जिल्लामा रहेका अति संवेदनसिल, संवेदनशिल मतदान केन्द्र र मतदान स्थलमा आवश्यकताको आधारमा सुरक्षा परिचालन गरी निवार्चन मर्यादित, सभ्य तरिकाले सम्पन्न गर्ने तयारी रहेको प्रमुख जिल्ला अधिकारी खडानन्द्र खत्रीको भनाइ छ ।
आसन्न फाल्गुन २१ गते हुन गहिरहेको प्रतिनिधिसभाको निर्वाचनका लागि आवश्यक कर्मचारी तथा अन्य विवरण संकलनको काम समेत तीब्र गतिमा चलिरहेको जनतइएको छ।
निर्वाचन सुरक्षाका लागि जिल्लामा रहेको तिनै तहका सुरक्षा निकायहरुले संयुक्त गस्ती गरिरहेका छन् । मुगुमा मात्र ५सय ८० निर्वाचन प्रहरी भर्ना गरिएको छ । जिल्लामा रहेका ६८ मतदान केन्द्रमध्ये, संवेदनसिल १९, अति संबेदनसिल ३४, र सामान्य १४ रहेका छन भने, ६९मतदान स्थलमध्ये सामान्य १५, संवेदनशिल २०, अति संबेदनशिल ३४ रहेका छन् । प्रतिनिधि सभाको चुनाव सम्पन्न गर्न नेपाल प्रहरी र निर्वाचन प्रहरी गरी ८ सय ५० भन्दा बढी प्रहरी परिचालन गरिनेछ ।
निर्वाचन सम्पन्न गराउन सरोकारवाला निकाय, राजनैनिक दल, पत्रकार, उम्मेदवार, स्थानीय नागरीक सवैले सकेको सहयोग गर्न निवार्चन अधिकृत मिनबहादुर कुवरले आग्रह गरेका छन् ।
एक मात्रै निर्वाचन क्षेत्र रहेको मुगुमा ६७ मतदान स्थल, ६९ मतदान केन्द्र रहेका छन् । आयोगका अनुसार १७ हजार १ सय ७१जना महिला र १८ हजार ५सय ९८ पुरुष गरी जम्मा ३६ हजार ३१ जना मतदाता रहेका छन् ।
