News 24 Television
असुरक्षित बन्दै बर्दिया, वन्यजन्तुको आक्रमण भयावह बन्दै

बर्दिया । बर्दिया जिल्लामा केही समययता चितुवाको आक्रमण बढ्दै जाँदा त्रसित बनेका स्थानीयहरू र मृतकका आफन्तले जिल्ला प्रशासन कार्यालय बर्दिया घेराउ गरेका छन । बिहीबार एकै दिन गुलरिया नगरपालिका वडा नं. ४ का ३६ बर्दिया नन्दु रोकाय र मधुवन नगरपालिका वडा नं. ९ बस्ने मैसरा डाँगीको मृत्यु भएपछि न्याय र सुरक्षा माग्दै पीडित परिवारसहित स्थानीय जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका हुन् । 

बर्दियामा विगतका वर्षहरूमा भन्दा यस वर्ष चितुवाको आक्रमण बढ्दै जाँदा स्थानीयहरू त्रसित बनेका छन् । सदरमुकाम गुलरिया नगरपालिका क्षेत्र भित्र नै चितुवाको आक्रमणबाट मानिसको मृत्यु हुने क्रम नरोकिएपछि शुक्रवार स्थानीयहरू जीवन रक्षाको माग गर्दे जिल्ला प्रशासन कार्यालय बर्दिया घेराउ गर्न पुगेका छन् । 

जिल्ला प्रशासन कार्यालय पुगेका स्थानीयले मान्छे मार्न पाईदैन भन्दै चर्को नाराबाजी समेत गरेका थिए । बर्दिया जिल्लाको बार बर्दिया नगरपालिका, गुलरिया नगरपालिका र मधुवन नगरपालिकाका गाउँ गाउँमा केही वर्षयता मानव वन्यजन्तु द्वन्द्व बढ्दै गएको छ ।  

सामुदायिक वन क्षेत्र र तिनका आसपासका क्षेत्रमा बाघ र चितुवाको आक्रमणबाट मानिसहरूको मृत्यु हुन थाले पछि स्थानीयहरू आक्रोशित समेत हुन थालेका छन् ।

चितुवाको आक्रमण बढदै जाँदा सरोकारवाल निकाय मौन रहेको र सर्वसाधारणलाई घरबाट बाहिर निस्कन समेत समस्या भएको छ ।   

वन्यजन्तुको आक्रमण बढ्दै जाँदा नियन्त्रणको प्रयास नगरिएको प्रति आक्रोश व्यक्त गर्दे समस्याग्रस्त वन्यजन्तु नियन्त्रण गर्न सम्बन्धित निकायले ध्यान दिनु पर्ने स्थानीयलको माग छ ।  

बर्दिया जिल्लामा डिभिजन वन कार्यालयको तथ्याँक हेर्ने हो भने विगतका वर्षहरूमा भन्दा यस वर्ष वन्यजन्तुको आक्रमण बढ्दै गएको पाइन्छ । 

आर्थिक वर्ष २०८०\०८१ मा वन्यजन्तुको आक्रमणबाट बर्दियामा ४ जनाले ज्यान गुमाएका थिए भने आर्थिक वर्ष २०८१\ ०८२ मा ६ जनाले ज्यान गुमाउँदा चालु आर्थिक वर्षको सात महिनाभित्रै ९जनाले ज्यान गुमाएका छन् । बर्दियामा पछिल्लो समय सवैभन्दा बढी चितुवाको आक्रमण बढ्दो मात्रामा देखिएको छ । 

बिहीबारको घटनाले बर्दिया असुरक्षित बन्दै गएको भन्दै तत्काल समस्याग्रस्त बन्यजन्तु नियन्त्रणमा लिनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनु पर्ने र परिवारको पालन पोषणको जिम्मेवारी सरकारले लिनु पर्ने भन्दै पिडित परिवार र स्थानीयले सरकार समक्ष माग समेत गरेका छन । 

मानव वन्यजन्तु द्वन्द्वका कारण ज्यान गुमाएका आफन्तहरुले पटक पटक सररकार सँग बन्यजन्तु नियन्त्रण गर्न माग गरे पनि सरकार भने यस बिषयमा मौन देखिएको छ । जसले गर्दा मानव वन्यजन्तु द्वन्द्व झन झन बढ्दै गएको छ । 

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update