मकवानपुर । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिदैँ जाँदा उम्मेदवारहरु मतदाता रिझाउन घरदैलो अभियानमा व्यस्त छन् । उम्मेदवार मत माग्न दौडधुप गरिरहेका बेला मकवानपुरको सिमलटार टोलका मतदाताहरू भने उम्मेदवारसँग लालपुर्जा खोजी रहेका छन् ।
दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरका ४४ जना उम्मेदवारहरु यतिबेला मत आफ्नो पक्षमा तान्ने कसरतमा दौडधुप गरिरहेका छन् । अन्य बेला शून्य हुने गाउँटोलमा आफ्नो चुनाव चिन्ह चिनाउन विभिन्न दलका उम्मेदवारहरु गाउँ पसिरहेका छन् ।
चुनावका बेला सबैभन्दा बढी गुञ्यमान हुने मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ सिमलटारमा यो पटक पनि चहलपल ह्वात्तै बढेको छ । एउटै टोलमा २३ सय बढी घरधुरी बसोबास गर्ने यहाँको मत जोगाउन सके मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवारलाई चुनाव जित्न सहज हुन्छ ।
त्यसैले उम्मेदवारहरुको दौडधुप यहाँ बढि नै छ । तर मत माग्दै आइपुगेका उम्मेदवारहरुलाई स्थानीयहरुले सुरुमै लालपुर्जा खोइ ? भन्दै प्रश्न गर्ने अभियान नै चलाएका छन् । ऐलानी जग्गामा बसोबास गर्ने उनीहरु बर्षौँदेखि जग्गाधनी पुर्जाका लागि दौडधुपमा छन् । टोलमा मत माग्न आएका उम्मेदवारसँग उनीहरूले चुनावी आश्वासनभन्दा अघि लालपुर्जा दिलाइदिन माग गरिरहेका हुन् ।
३० वर्षअघि बसेको बस्तीका लागि आवश्यक सबै भौतिक विकास भए पनि जग्गाधनी पुर्जाको लडाइँ भने कहिल्यै नसकिएको स्थानीयको गुनासो छ । हरेक चुनावमा नेताका एजेण्डा बन्ने लालपुर्जाको विषय चुनाव सकिएपछि हराउने गरेको गुनासो गरेका हुन् । यो पटक भने टोलमा आउन लागेका हरेक उम्मेदवारलाई ध्यानाकर्षण पत्र बुझाउने तयारी गरिएको सिमलटार टोल विकास संस्थाका अध्यक्ष देवकृष्ण थोकर बताउँछन् ।
२०७९ को निर्वाचनमा यस क्षेत्रमा एमालेका उम्मेदवार महेश कुमार बर्तौला निर्वाचित भएका थिए । उनी सदनमा पुगेपछि पनि आफूहरुले लालपुर्जा नपाएको गुनासो स्थानीयले गरिरहँदा लालपुर्जा बाँड्ने काम प्रतिनिधि सभा सांसदको नभएर स्थानीय तह र भूमि सम्बन्धि समस्या समाधान आयोगको भएको आयोगका जिल्ला अध्यक्ष बलराम बल बताउँछन् । जसका लागि यस क्षेत्रका जग्गाहरुको नापजाँच सकिएको र लालपुर्जा बाँड्न भने बाँकी रहेको उनको दाबी छ ।
टोल विकास संस्थाका अध्यक्ष थोकरका अनुसार यसअघि टोलमा आएका उम्मेदवारहरुलाई पनि यही ध्यानाकर्षण पत्र दिइएको थियो भने आगामी दिनमा जो भोट माग्न टोलमा आउँछन्, उनीहरुलाई जग्गाधनी पुर्जा खोइ ? भन्दै प्रश्न गर्न तयारी अवस्थामै बसेको उनी बताउँछन् ।
मकवानपुर–२ मा पर्ने भोट बैँकको रुपमा रहेको यस टोललाई हरेक उम्मेदवारको भोट फकाउने थलोको रुपमा लिने गरेका छन् । २०५२ पुस ६ गतेबाट बजार नजिकको खाली बस्तीमा भूमिबिहिन नागरिकले पाल टाँगेर सुरु गरेको बस्तीमा अहिले २३ सय बढी घरधुरी रहेका छन् ।
