News 24 Television
कैदीसँग हति’यार, सशस्त्र प्रहरीमाथि आक्रामण, संकेत के ?

काठमाडौं । सोमबार मात्रै नेपालको सुरक्षा संयन्त्र र सुक्षा निकाय माथि नै प्रश्न उठाउने गरी मधेश प्रदेशका २ जिल्ला सिरहा र पर्सामा २ घटना सार्वजनिक भयो । 

सिरहामा कारागार भित्र रहेका कैदी बन्दी इन्द्रजित यादवको कोठाबाट एक कटुवा पेस्तोल २ थान गोली र एक लाख २० हजार नगद फेला परेको थियो भने अर्काे पर्सा जिल्ला स्थित बीरगञ्जमा रहेको अवैध गोदाममा छापा मार्न गएको सशस्त्र प्रहरीमाथि प्रत्याक्रमण र कुटपिट । यी दुई घटनाका दृष्टान्तले समग्र सुरक्षा व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा भएको छ । 

कारागारभित्र खास के भएको थियो ?  

सिरहा कारागार भित्र कैदी बन्दीहरुले कारागारभित्र मदिरा तथा लागुआषध कारोबार, मोबाइल फोनको अवैध प्रयोग, चन्दाका नाममा जबरजस्ती असुली भै रहेको सुचना प्रहरीलाई आयो । त्यहि सुचनाका आधारमा सोमबार कारागारको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा कैदीबन्दी तथा कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट कटुवा पेस्तोल र २ थान गोलि बरामद भयो । 

कारागार भित्र नै पेस्तोल फेला पछि अनुसन्धानका लागि यादव सहित १३ कैदीबन्दीलाई नियन्त्रणमा लिईएको थियो । यादवलाई नियन्त्रणमा लिईए पछि कारागार भित्र रहेका यादव निकटका कैदीबन्दीले कारागारमा नाराजुलुस गर्ने, थाल थटाउनेदेखि आगो लगाउने काम गरे । उनीहरुले लगाएको आगो प्रहरीले पानीको फोहोराले नियन्त्रणमा त लियो । तर मंगलबार दिनभर पनि कारागारको अवस्था समान्य बन्न सकेको छैन । 

वीरगञ्जमा किन कुटिए सशस्त्र प्रहरी ?  

भन्सार छली गरेर भित्र्याईएका सामानहरु बिरगञ्जको आदर्श नगर स्थित् एक गोदामा थुपारीएको सुचना पाए लगत्तै भन्सार कार्यालय र सशस्त्र प्रहरीको टोलि छापा मार्नका लागि पुग्यो । उनीहरुले खानतलसी गर्न थालेपछि स्थानीयहरु जम्मा भएर प्रतिकार गरे । उनीहरुले सशस्त्र प्रहरीको गाडीको सिशा फुटाउनेदेखि प्रहरीमाथि कुटपिट समेत गरे । 

विज्ञ र सुरक्षाकर्मीको दृष्टिमा २ घटना  

सरकारले फागुन २१ गतेका लागि निर्वाचन तोकेको छ । दलहरुले सुरक्षा संवेदनशीलता देखाउँदै सरकारको पटक पटक ध्यानाकर्षण गराइरहेका छन् । यता, सरकारले भने सुरक्षा व्यवस्था चुस्त दुरुस्त भएको बताउँदै आएको छ । सशस्त्र प्रहरी कुटिएको घटना चुनावी सुरक्षा रणनीतिसँग सोझै जोडिदैन ।

विगतमा पनि नेपाल भारत सीमानाकाहरुमा यस्तो घटना धेरै पटक भएका छन् । तस्करहरुले प्रहरीकै ज्यानै समेत लिएका छन् भने प्रहरी समेत कतिपय घटनामा चुकेको छ । तर यसो भनिरहदाँ नेपालको सुरक्षा रणनीति कति कमजोर रहेछ भन्ने प्रष्टसँग देखिएको र सुरक्षाकर्मीले नै कुटाइ खानु सकरात्मक संकेत नभएको प्रहरी र अपराध बीटमा लामो समयदेखि रिपोर्टिङ गर्दै आएका केपी ढुंगाना बताउँछन् । 

सशस्त्र प्रहरीमाथि भएको आक्रमणले निर्वाचनको सुरक्षा व्यवस्था कस्तो छ भन्ने विषयमा समेत ध्यान केन्द्रीत गरेको नेपाल प्रहरीका पूर्वडिआईजी केशव अधिकारी बताउँछन् । 

त्यसो त सुरक्षा लगायतका विभिन्न कारण देखाउँदै दलहरु फागुन २१ को निर्वाचन सार्न कसरत गरिरहेका छन् । जेनजी विद्रोहमा भदौं २४ गते कारागारबाट भागेका कैदीबन्दी मध्ये करिब ४ हजार कैदी बन्दी अझै बाहिर छन् । 

लुटिएका सयौ हतियार अझै प्रहरीले फिर्ता ल्याउन सकेको छैन । अदृश्यरुपमा निर्वाचन भाँड्ने समूह सक्रिय रहेको आशंका पनि हुँदै आएको छ । यस्तो अवस्थामा कारागारभित्रै कैदीबन्दीको साथमा पेस्तोल भेटिनु गम्भिर भएको र सरकारले यता ध्यान नदिएको ढुंगाना बताउँछन् । 

कारागार भित्र पेस्तोल भेटिन र सुरक्षाकर्मी कुटिनु जस्ता घटनाले निर्वाचनमा परिचालन हुने सुरक्षाकर्मीको मनोवल गिर्न सक्छ । बुथ र मतपेटिकाको सुरक्षा गर्नु पर्ने सुरक्षाकर्मीकै मनोवल गिर्नु निर्वाचनका लागि सुखद पक्ष नभएको पूर्वडिआईजी अधिकारी बताउँछन् । 

निर्वाचन आयोगले तोकेको उम्मेदवारहरुको प्रचार प्रसारको अवधि फागुन पहिलो हप्ताबाट शुरु हुँदैछ । प्रचारप्रसारमा निर्धक्क भएर जनतामाझ जान नसकिएला भन्ने चिन्ता दलहरुले गर्दै आइरहेका छन् । तर यसैबीच सतहमा देखिएका यस्ता घटनाहरुले सुरक्षा व्यवस्थामाथि भोली झन धेरै प्रश्नहरु उठ्न सक्छन् ।

यस्तो अवस्थामा सरकारले सडकमा आर्मीको उपस्थितिलाई मात्रै देखाएर सुरक्षाको वातावरण बनेको छ भन्दा त्यसले भविष्यमा अर्काे दुर्घटना हुन सक्छ । त्यसैले यसतर्फ सरकारले गम्भिर भएर सोच्न पर्छ । 

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update