काठमाडौं । केही दिनयता बजारमा खाना पकाउने एलपी ग्यासको अभाव सिर्जना भएको छ । आम चुनावको मुखमा ग्यासको अभाव सिर्जना भएपछि नेपाल आयल निगमले आफ्नै कार्यालयबाट उपभोक्ताका लागि ग्यास विक्री शुरु गरेको छ । तर पनि बजारमा ग्यास अभाव भने नभएको निगमले दावी गरिरहेको छ ।
केही दिनयता बजारमा खाना पकाउने एलपी ग्यासको अभाव सिर्जना भएको छ । आसन्न निर्वाचनको पूर्वसन्ध्यामा बजारमा खाना पकाउने ग्यासको अभाव सिर्जना भएको हो । खाना पकाउने ग्यासको अभाव मात्र होइन, निर्वाचन नजिकिँदै गर्दा कालोबजारीयाहरु सक्रिय भएको भन्दै राष्ट्रिय सभा बैठकमा समेत प्रश्न उठेका छन् ।
बुधबारको राष्ट्रियसभाको सुन्य समयमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा बजारमा काला बजारीहरु सक्रिय भएको आरोप लगाए ।
दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गराएर सर्वसाधारणलाई सास्ती दिन थालिएको उनको भनाई छ । चुनावी समयमा आपूर्ति प्रणाली अस्थिर पार्ने र अनावश्यक नाफा कमाउने उद्देश्यले केही व्यवसायीले कृत्रिम अभाव देखाएको रिजालले आरोप लगाए ।
आयल निगम कार्यालयबाटै ग्यास वितरण
बजारमा खाना पकाउने ग्यास (एलपीजी)को अभाव भएको गुनासो बढेपछि नेपाल आयल निगमले आफ्नो कार्यालयबाटै सर्वसाधारणका लागि ग्यास वितरण शुरु गरेको छ ।
निगमको टेकुस्थित कार्यालयबाटै सर्वसाधारणका लागि ग्यासको विक्री वितरण थालिएको हो । बजारमा ग्यास अभाव भएपछि अत्यावश्यक परेकालाई भन्दै निगमले कार्यालयबाटै ग्यासको खुद्रा वितरण थालेको हो । खासगरी बजारमा नेपाल ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यासको अभाव देखिएको छ ।
बजारमा अभाव भएका कम्पनीको ग्यासका उपभोक्ताका लागि भन्दै निगम कार्यालयबाटै विक्री गरिएको छ । ग्यास अत्यावश्यक भएका उपभोक्ताले आफ्नो डिलरबाट ग्यास पाउन नसकेमा टेकुस्थित कार्यालयबाट लैजान सकिने ब्यवस्था मिलाएको बताइएको छ ।
किन भयो ग्यासको अभाव ?
बजारमा केही दिनयतादेखि एलपी ग्यासको अभाव सिर्जना भए पनि नेपाल आयल निगमले भने आयात र आपूर्तीमा कुनै समस्या नरहेको जनाएको छ ।
माग बमोजिम नै ग्यास आयात भइ रहेको दाबी गरिए पनि ग्यासको अभाव भएको हल्लासँगै उपभोक्ताहरुले रिक्त सिलिण्डरहरु एकैपटक भर्ने खोज्दा चाप बढेको हो ।
निगमका अनुसार ग्यासको मासिक खपत ३० लाख सिलिण्डर हो । जसअनुसार ३० लाख उद्योगमा, ३० लाख ट्रान्जिटमा र ३०लाख उपभोक्ताको घरमा हुने भए पनि ग्यास अभावको हल्लासँगै आवश्यकता भन्दा बढी रित्ता सिलिण्डरहरु भर्न थालिएपछि अभाव बढेको हो ।
बजारमा खाना पकाउने ग्यास अभावसँगै निर्वाचन नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुहरुमा भइरहेको कालोबजारी रोक्न पनि सरकारले विशेष कदम चाल्न जरुरी छ ।
