बाजुरा । देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरू मतदाताको घरदैलोमा व्यस्त रहँदा बाजुरामा भने भावुक दृष्य देखिएको छ, जसले आम बाजुरालीको मन छोएको छ ।
नेकपा एमालेका केन्द्रीय समिति सदस्यसमेत रहेका लालबहादुर थापा प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् । मातृशोकमा परेका थापा किरियापुत्रीकै रुपमा कोरा कपडा लगाएरै बाजुराका गाउँमा भोट माग्दै हिडेका छन् ।
बाजुरामा नेकपा एमालेका तर्फबाट बाजुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार, एमाले केन्द्रीय कमिटी सदस्य लालबहादुर थापा अहिले मातृशोकमा छन् । उनकी माता कलशी थापाको ८९ वर्षको उमेरमा गत माघ २४ गते निधन भएको हो । आमाको निधनपछि अहिले पनि थापा किरिया बसेकै अवस्थामा छन् । तर मातृशोकको कहाली लाग्दो पीडाको बीचमा पनि लालबहादुर घरमै सीमित छैनन् ।
आँखा रसाएका, मन भारी भएको अवस्थामा पनि उनी बाजुराको गाउँ, बस्ती पुग्दै मतदाताको ढोका ढकढक्याइ रहेका छन् । आमा गुमाएको पीडालाइ थाती राखेर बाजुरेली जनताको भविष्यका लागि जनताको बीचमा उभिरहेका छन् ।
थापाले मतदातासँग भेट्दा आमा साथमा नभएको पीडा जनतामाझ सुनाउदै आमा जसरी नै बाजुरालाई माया गरेर सेवा गर्ने आफ्नो संकल्प रहेको बताएका छन् ।
आमा गुमाएको शोकलाई, बाजुराबासीको साथ लिएर शक्तिमा बदल्ने आफनो धारण रहेको प्रतिनिधि सभासदस्यका उम्मेदवार लालबहादुर थापाको भनाइ छ ।
थापाको यो अवस्थाले बाजुरेली जनतामा गहिरो भावनात्मक प्रभाव पारेको छ । धेरै मतदाताहरू भावुक हुँदै आमाको किरिया बस्दाबस्दै पनि जनताको लागि घरदैलोमा आउन सक्ने नेता साँचो अर्थमा बाजुराको छोरा भएको बताएका छन् ।
स्थानीय बुढापाका, आमा–समूह, युवा तथा सर्वसाधारण मतदाताहरूले मातृशोकमा रहेका थापालाई सहानुभूति मात्र होइन, मत मार्फत सम्मान गर्ने अठोट व्यक्त गरिरहेका छन् ।
आमाको १३ दिनको संस्कार नसकिँदै किरियापुत्रीकै रुपमा मतदातासँग पुगेर थापाले सहानुभूतिको भोट बटुल्ने प्रयास गरेका हुन् । यद्यपी उनको यो यात्राले राजनीति केवल भाषण र वाचा मात्र होइन, कठिन घडीमा देखिने मानवीयता र त्याग पनि हो भन्ने सन्देश दिएको छ ।
