News 24 Television
पोखरामा फोहोरको डंगुर, समाधानको खोजी व्यर्थ बन्दै, मेयरले जनाए प्रतिबद्धता

कास्की । फोहोर फाल्ने स्थान अभाव र अवरोधकै कारण पोखराको फोहोर नउठेको पनि झण्डै एक महिना पुग्न लागि सकेको छ । समस्या समाधानका दर्जनौ उपाय अपनाउदा पनि समाधान नभएपछि महानरले सर्वदलिय र सर्वपक्षिय भेलामार्फत समस्या समाधानको जुक्ति खोजको छ ।  

दृष्यमा देखिएका यी फोहोरका डंगुरहरु सुन्दर नगरी पोखराका हो । सहरको मुख्यचोक र सडक किनारमा यसरी नै फोहोर थुप्रिन थालेको पनि एक महिना पुग्न लागिसक्यो । 

सामान्यतया घरमै फोहोर राख्ने र महानगरपालिकाको फोहोर बोक्ने गाडी आएपछि फोहोर फाल्ने चलन थियो । तर, अहिले नत महानगरपालिकाको गाडी आउछ नत स्थानीयले फोहोर घरमा नै राख्छन् । फलस्वरुप पर्यटकी राजधानी भनिएको पोखरा फोहोरको सहरमा परिणत हुदैँछ । 

पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनमा आए पछि बाच्छेबडुवाको ल्याडफिल साइडमा फोहोर फाल्न छाडियो । त्यस यता अस्थाई रुपमा पोखरा–३२ लामेआहालमा फोहोर फाल्ने थालियो । त्यहाँको खाल्डो भरिएपछि अन्यन्त्र फोहोर व्यवस्थापनको प्रयास असफल भएपछि फोहोर उठ्न छोडेको हो । 

फोहोर व्यवस्थापनका लागि महानगरले विभिन्न स्थान पहिचान गरेपनि स्थानीय र स्थानीयका नाममा केही राजनीतिक दल र स्वार्थ समूहको अवरोधका कारण अहिलेसम्म फोहोर व्यवस्थापन हुन सकेको छैन । 

महिनादिन लामो प्रयास असफल भएपछि महानगरपालिकाले बुधबार सर्वपक्षिय भेलामार्फत समस्या समाधानको प्रयास गरेको छ । कार्यक्रममा बोल्दै पोखराका मेयर धनराज आचार्यले केही स्वार्थ समूहकै कारण फोहोर व्यवस्थापनमा समस्या भएको स्पष्ट पारे  । 

सर्वपक्षीय भेला पश्चात राजनीतिक दलका नेताहरुले फोहोरमा फोहोरी राजनीति गर्न नहुने र महानगरलाई आफुहरुको साथ रहेको प्रतिवद्धता समेत व्यक्त गरेका छन् । 

भेलामा उपल्लो सरकारी निकायका तर्फबाट सहभागि हुन आएका गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डण्डुराज घिमिरेले कुनै ठोस कदम नचाली बक्तब्य दिएर हिड्न लागेपछि कार्यक्रममा सहभागिले विरोध जनाएका थिए । 

यता न्यूज २४ सँग कुला गर्दै प्रमुख सचिव घिमिरेले महानगरले चालेका कदममा प्रदेश सरकारले साथ दिने प्रतिवद्धता भने जनाए । 

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारीसहित सबै सुरक्षा निकायका प्रमुख र सरोकारवालाहरुको उपस्थिति थियो ।

सर्वपक्षिय भेलाले फोहोर फाल्ने स्थानको टुंगो लगाउछ भन्ने सबैको आश थियो तर, सबैले झारा टार्ने हिसाबले आफ्नो धारणा राखेर कार्यक्रमबाट हिडेको भन्दै सहभागिले गुनासो गरे । यद्यपी महानगर प्रमुख आचार्यले भने अब आउने शनिबारसम्मा पोखराको फोहोर व्यवस्थापन वारे निष्कर्षमा पुग्ने र फोहोर उठ्ने प्रतिवद्धता जनाएका छन् । 

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update