News 24 Television
सरकारको उल्टो काम भन्दै जंगिए व्यवसायी, रौतहट ठप्प पार्ने चेतावनी

रौतहट । रौतहटको सदरमुकाम गौरबाट करदाता सेवा कार्यालय सार्न लागेको भन्दै बिरोध स्वरुप उद्योग बाणिज्य संघ, रौतहटका पदाधिकारी सहित सदरमुकाम गौरका ब्यापारीहरु प्रदर्शनमा उत्रिएका छन् । शुक्रबार गौरको मुख्य भागमा अवस्थित करदाता सेवा कार्यालयको आफ्नै भवनमा रहेका सामानहरु गाडीमा लोड गर्न थालेपछि ब्यापारीहरु आन्दोलित बनेका हुन् । 

करदाता सेवा कार्यालय खारेज गर्ने सरकारी निर्णयको विरोधमा रौतहटका व्यापारी तथा व्यवसायीहरू आन्दोलित भएका छन् । शुक्रबार रौतहट उद्योग वाणिज्य संघको नेतृत्वमा गौर बजार नै बन्द गरेर विरोध प्रदर्शन गरिएको हो । 

सदरमुकाम गौरमा अवस्थित करदाता सेवा कार्यालयको आफनै भवनमा रहेका सामानहरु गाडीमा लोड गर्न थालेपछि ब्यापारीहरु आक्रोशित र आन्दोलित बनेका हुन् । कार्यालयको सामानहरु आन्तरिक राजस्व कार्यालय बाराको सिमरातर्फ लैजान खोज्दा सामान लोड गरिएका ट्रकलाई रोकेका ब्यापारीहरुले बाटो जाम गर्नुका साथै बिपि चोकमा टायर बालेर प्रदर्शन नै गरे ।

संघका पदाधिकारी र स्थानीय व्यापारीहरु बाटोमा बसेर अबरोध गरेपछि विभिन्न सामानहरु र कागजात राखिएका  ट्रक कर कार्यालय अगाडि रोकिएको थियो । गौरबाट सय किलोमिटर दुरी रहेको सिमरामा कर कार्यालय सार्दा समय र पैसा दुबैको नोकसानी हुने भएकोले लोडेड सामानहरु पुनः कार्यालयमा राखि सरकारले कार्यालय सुचारु गर्ने बाताबरण बनाउनु पर्ने रौतहट उद्योग वाणिज्य संघका महासचिव सन्तोष केसरी बताउँछन् । 

राज्य पक्षले बिगतमा विभिन्न सहमती सम्झौता गरि आफुहरुलाई झुक्याएको आरोप लगाउदै महासचिब केसरीले बिज्ञप्ती मार्फत ३ गतेसम्म लिखित रुपमा ठोस निर्णय नआए ४ गते देखि अनिश्चितकालका लागि भन्सार नाका र यातायात ठप्प पार्ने र कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।  

राज्यले गौरको व्यापारी माथि विभेदपूर्ण निती अपनाएकोले समस्या समाधान नभएसम्म तत्कालका लागी  बजार बन्द रहने जनाइएको छ । आन्दोलनमै सहभागी अर्का स्थानीय  रेवन्त झाले बिगतको सम्झौतालाई नमानेर जनतालाई दुःख दिने राज्यको  बिभेदकारी नीति ठीक नभएकोले कार्यालय सार्ने निर्णय सच्याउन आफुहरु जनताको साथमा रहेको बताए ।

एमालेबाट रौतहट –१ को उम्मेदवार एवं गौर नगरपालिकाका पुर्व मेयर अजय गुप्ताले निर्वाचन गराउने जिम्मा लिएको सरकारले कार्यालय सार्न लागेको भन्दै सरकार नियतबस चुनाव सार्ने र जनतालाई दुःख दिने बाटोमा लागेको आरोप लगाएका छन् । 

रौतहट –१ का रास्वपा उम्मेदवार राजेश चौधरीले पनि करदाता सेवा कार्यालय पूर्ण रुपमा गौरको आफनै भवनबाट संचालन हुनुपर्ने अडान राखेका छन् । 

धर्नामा पुगेका व्यापारीहरुले सहज एवं सर्वसुलभ ढंगबाट सेवा प्रदान गर्नुपर्नेमा कार्यालय सार्ने कार्य एकदमै अशोभनिय र मधेश विरोधी भएको जिकिर गरेका छन् । रौतहट उद्योग वाणिज्य संघले करदाता सेवा कार्यालय जिल्लामै कायम राख्नुपर्ने माग गर्दै सरकारले निर्णय फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । 

प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update