News 24 Television
डिजिटल कारोबार गर्दा सचेत नभए ठगी हुनसक्छ

काठमाडौं । हिजोआज बैंकिङ कारोबार अत्यावश्यक सेवा बनेको छ । अझ आजको व्यस्त जीवनमा धेरै जनालाई बैंकसम्म पुग्ने समय छैन । यसको समाधानका लागि बैंक तथा वित्तीय संस्थाहरुले मोबाइलबाटै पैसाको कारोबार गर्न मिल्ने सुविधा दिएका छन् । यसले कारोबारलाई सजिलो र पारदर्शी मात्रै बनाएको छैन डिजिटल दुनियाँमा अभ्यस्त हुन सहयोग समेत पु¥याएको छ । 

मोबाइल, कम्प्युटर, एटीएम वा क्यूआर कोड प्रयोग गरी इन्टरनेटमार्फत पैसाको कारोबार गर्न पाउने गरि बैंक तथा वित्तीय संस्थाले दिएको प्रणाली–डिजिटल बैंकिङ हो । जसको प्रयोगले बैंक जानै नपरी पैसा पठाउन, प्राप्त गर्न, बिल तिर्न, ब्यालेन्स हेर्न सकिन्छ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी, एटीएम सेवा र डिजिटल वालेट सबै डिजिटल बैंकिङका माध्यम हुन् ।

डिजिटल बैंकिङ कारोबारले सबैभन्दा धेरै समयको बचत गर्छ भने यात्रा खर्च पनि घटाउँछ । बैंक तथा वित्तीय संस्थालाई गाउँगाउँसम्म वित्तीय सेवा पु¥याउन सहज हुन्छ । यो भन्दा पनि महत्वपूर्ण कुरा, कारोबारलाई पारदर्शी र सुरक्षित बनाउँछ ।पैसा लिनदिन झन्झट हुने र पैसा बोकेर हिँडनुपर्ने अवस्थाबाट मुक्त हुने, हराउने वा चोरिने डर कम हुन्छ । तर डिजिटल बैंकिङका माध्यमहरुको प्रयोग गर्दा ध्यान दिइएन भने खाता बाटै रकम चोरी हुन सक्छ । 

डिजिटल माध्यमबाट हुने ठगीबाट जोगिन पासवर्ड, ओटीपी र पिन कोड जस्ता महत्वपूर्ण विवरण कसैलाई पनि दिनु हुँदैन । यस्तै, अनजान फोन कलबाट सावधान हुनुपर्ने, थाहा नभएको लिंक क्लिक गर्ने काम पनि गर्नु हुँदैन । डिजिटल कारोबार सुरक्षित रुपमा गर्न सक्दा यसले हाम्रो जीवनलाई सहज र आधुनिक त बनाउँछ नै साथसाथै देशको अर्थतन्त्रमा पनि राम्रो फाइदा पु¥याउँछ । सही जानकारी, सचेत प्रयोग र सुरक्षा अपनाउन सके डिजिटल बैंकिङ महत्वपूर्ण भरोषायोग्य माध्यम बन्न सक्छ ।

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update