News 24 Television
रौतहट ३ : प्रभु भर्सेस् धिरज, रास्वपामाथि कार्यक्रम भाँडेको आरोप !

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले रास्वपाको नेतृत्वकर्ता र सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै रौतहटमा प्रतिकारको चेतावनी दिएका छन् । साहको पार्टीद्वारा आयोजित चुनावी कार्यक्रम रौतहट महमदपुर सहित विभिन्न स्थानमा रास्वपा कार्यकर्ताहरूले बिथोल्न खोजेको भन्दै नेता साहले यस्ता चेतावनी दिएका हुन् । 

रौतहट –३ को उम्मेदवार तथा पूर्वमन्त्री समेत रहेका आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहको पार्टीद्वारा रौतहट महमदपुर सहित विभिन्न स्थानमा आयोजित चुनावी कार्यक्रम रास्वपा कार्यकर्ताहरूले बिथोल्न खोजेको भन्दै नेता साहले आपत्ति जनाएका छन् । रास्वपा कार्यकर्ताले अलोकतान्त्रिक र अराजक गतिविधि नरोके आफू चुप नबस्ने साहले चेतावनी दिएका छन् ।

नेता साहले राजाको पालामा बोल्न पाईन्न भनिन्थ्यो, तर अहिले आएर रास्वपाले त्यस्तै चरित्र देखाएको आरोप लगाएका छन् । लोकतान्त्रिक पद्धतीमा कुनैपनि पार्टीको कार्यक्रम विथोल्न र हुलहुज्जत गर्न नपाई साहको तर्क छ । नयाँ शक्तिहरूको वास्तविक अनुहार आफुले देखिरहेको बताउदै उनले सबैको हिसाब किताब हुने भन्दै आक्रोश पोखे । 

रास्वपाका नेताहरुलाई लक्षित गर्दै केपी शर्मा ओली, प्रचण्ड र उपेन्द्र यादवको पाउ परेर पटक–पटक सत्तामा पुगेका रवि लामिछानेलाई विकासको प्रश्न सोध्न सुझाव दिएका छन् ।  आफु विपक्षमा बसेर जनताको पक्षमा उभिएको उनी जिकिर गर्छन् । 

पटक–पटक सत्ताको स्वाद चाखेका रवि लामिछानेले विकासको जवाफ दिनुपर्ने साहको तर्क छ । काठमाडौको मेयर हुँदा मधेसी अनुहारलाई बालेनले गरेको दुव्र्यवहार गरेको आरोप पनि साहले लगाएका छन् । त्यसैले बालेनलाई मधेश र मधेसीबाट भोट माग्ने अधिकार नभएको उनको जिकिर छ ।

निकै आक्रामक देखिएका साहले प्रधानमन्त्री सुशीला कार्कीलाई रौतहट ३ को विकासको बाधक भनेका छन् । यता प्रभु साहले गरेको टिप्पणी अशोभनीय रहेको भन्दै रास्वपाका प्रतिनिधि र अन्य दलका नेता कार्यकर्ताले सामाजिक सन्जाल र विभिन्न कार्यक्रममार्फत् बिरोध जनाईरहेका छन् । रौतहट –३ कै रास्वपा उम्मेदवार धिरज पटेलले हारको डरले आजपा अध्यक्ष तथा उम्मेदवार प्रभु साहले मानशिक सन्तुलन गुमाएको दाबी गरे । पटेलले साहलाई जेनजीहरुसँग माफी माग्न समेत सुझाव दिएका छन् । 

साहको टिप्पणी बारे निर्वाचन आयोगमा उजुरी दिईसकेको जानकारी दिदै पटेलले निर्वाचन आयोगलाई गम्भीर हुन र कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका छन् । 

साहको यस्तो अभद्र व्यवहारकै कारण रौतहट –३ बाट रास्वपा अत्यधिक मतले विजयी हुने दाबी पटेलले गरेका छन् । त्यसो तर रौतहट –३ प्रभु साहको पकड क्षेत्र हो । 

साहले यहाँबाट लगातार ४ पटक चुनाव जितिसकेका छन् । तर यसपटक रास्वपाको बढ्दो सक्रियता र बालेनप्रतिको युवा क्रेजले साहलाई दबाबमा पारेको देखिन्छ । साहसहित यो क्षेत्रमा रास्वपाका धिरज पटेल, एमालेबाट कुन्दन कुशवाहा, जसपा नेपालबाट गोबिन्द चौधरी नेपाली कांग्रेसका रामकृपाल यादव र नेपाली कम्युनिस्ट पार्टीबाट पुनम यादव चुनावी प्रतिस्पर्धामा छिन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update