काठमाडौं । नेपालमा छोटो अवधिमै डिजिटल प्रविधिको तीव्र विकास भएको छ । यससँगै बैंक तथा वित्तीय संस्थाहरुले पनि डिजिटल कारोबारलाई प्राथमिकताका साथ विस्तार गरेका छन् । तर अनलाइन कारोबार बढेसँगै इन्टरनेटबाट हुने ठगीका घट्नाहरु पनि द्रुत गतिमा बढीरहेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोमा दर्ता भएका उजुरीको तथ्यांकले पछिल्ला केही वर्षयता ठगीका घटनाहरु उच्च दरमा बढेको देखाउँछ ।
डिजिटल प्रविधिको विस्तारसँगै नेपालमा विद्युतिय कारोबारको प्रयोग बढिरहेको छ । तर, त्यससँगै अनलाइन ठगीका घटनाहरू पनि नियन्त्रणबाहिर जान थालेका छन् ।
नेपाल प्रहरी साइबर ब्यूरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९\८० मा ठगीसम्बन्धी १ हजार ८१५ वटा उजुरी दर्ता भएका थिए । तर यो संख्या आर्थिक वर्ष २०८०\८१ मा दोब्बर भन्दा बढी बढेर ४ हजार १ सय ३३ पुगेको छ । त्यसपछि आर्थिक वर्ष २०८१\८२ मा पनि करिब दोब्बर बढेर ७ हजार ७ सय २८ वटा उजुरी परेको छ ।
चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो ६ महिनामा मात्र ३ हजार ४ सय ४७ वटा ठगीसम्बन्धी उजुरी परेका छन् ।
आर्थिक वर्ष उजुरी संख्या
२०७९\८० १,८१५
२०८०\८१ ४,१३३
२०८१\८२ ७,७२८
२०८२\८३ ३,४४७
मोबाइल बैंकिङ, डिजिटल वालेट, सामाजिक सञ्जालमार्फत हुने किनबेच, नक्कली वेबसाइट तथा फिसिङ लिंक प्रयोग गरेर ठगी गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ ।
प्रयोगकर्ताको डिजिटल सचेतनाको कमी र सजिलै विश्वास गर्ने बानी ठगीकर्ताका लागि मुख्य अवसर बनेको छ । विद्युतीय वित्तीय कारोबारमा हुने ठगीबाट जोगिन अनलाइन कारोबार गर्दा सावधानी अपनाउन, अपरिचित लिंक तथा फोन कलबाट टाढा रहन र आफ्नो व्यक्तिगत तथा बैंकिङ विवरण कसैलाई साझा गर्दा ठगी हुन सक्छ । यदि कुनैपनि किसिमले ठगी भएको खण्डमा तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्था र प्रहरीमा उजुरी दिनुपर्छ ।
