मकवानपुर । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र रुपमा चलिरहेको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुल ३ लाख मतदाता छन् । तर मतदाता शिक्षाको अभावका कारण गत निर्वाचनमा कुल मतको ४.४६ प्रतिशत मत बदर भयो ।
आउँदो निर्वाचनमा बदर मतको संख्या घटाउने लक्ष्य सहित जिल्लाको १०२ वटै वडामा मतदाता शिक्षा सञ्चालन भइरहेको छ । दुईवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको मकवानपुरको दुवै क्षेत्रका १०२ वटै वडामा मतादाता शिक्षा सञ्चालन भैरहेका छन् । २०७९ को निर्वाचनमा कुल मतमा ४.४६ प्रतिशत मत बदर भएको थियो ।
सोही बदर मतको संख्या घटाउने उद्देश्यले १० वटा स्थानीय तह रहेको मकवानपुरका सबै वडामा मतदाता शिक्षा स्वयम्सेवक खटिएका हुन् । मतदाता शिक्षा प्रभावकारी बनाउन प्रत्येक पालिकाबाट एक–एकजना अनुगमनकर्तालाई तालिम दिइएको थियो ।
तालिमप्राप्त अनुगमनकर्ताले आफ्नो पालिकाको प्रत्येक वडाबाट एक–एकजनालाई तालिम दिएपछि वडा तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
प्रत्येक वडामा बालविकास सहजकर्ता वा महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा स्वयंसेवकका रूपमा परिचालन गरिएको छ । त्यसोत, पढेलेखेका मानिसहरुले समेत मतदान गर्ने सही प्रक्रिया थाहा नभएको पाइएको स्वयम्सेवकहरु बताउँछन् ।
मतदाता शिक्षा लिएपछि वर्षौँदेखि मतदान गर्दै आएका मतदाताहरु समेत दंग देखिएका छन् । सानो गल्तीले पनि आफ्नो अमुल्य मत बदर भएर गन्ती नहुने भन्ने थाहा पाएपछि मतदान गर्ने प्रक्रिया सिक्न उनीहरु उत्साहित देखिएका छन् ।
स्वयंसेवकहरूले घरदैलोमार्फत मतदातालाई नमुना मतपत्र प्रयोग गरेर मतदान प्रक्रिया, मतपत्रमा सही तरिकाले छाप लगाउने, मतपत्र पट्याउने तरीका सिकाइरहेका छन् । मतदाता शिक्षाले निर्वाचनमा सहभागिता वृद्धि र मतको गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने प्रदेश निर्वाचन कार्यालय, हेटौंडाका निर्वाचन अधिकारी हरी ढकाल बताउँछन् ।
मकवानपुरको क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४३५ र क्षेत्र नम्बर २ मा एक लाख ५६ हजार ८९९ मतदाता रहेका छन् । जिल्लाको कुल मतदाता संख्या तीन लाख १५ हजार ३३४ छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र प्रभावकारी बनाउन मतदाता शिक्षा अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको जनाइएको छ ।
