ओखलढुङ्गा । आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै ओखलढुंगामा सुरक्षा सतर्कता बढाइएको छ । मतदानका दिन हुन सक्ने सम्भावित विवाद, अफवाह र आकस्मिक अवस्थालाई समयमै व्यवस्थापन गर्न जिल्लाका सम्बन्धित निकायहरूले समस्या समाधानका लागि अभ्यास सुरु गरेका छन् ।
यो हो, ओखलढुंगा सदरमुकामकै एक मतदान केन्द्र । यहाँ बिहानदेखि शान्त रूपमा मतदान प्रक्रिया अघि बढिरहेको छ । मतदाताको उत्साहजनक सहभागिता, सबै कुरा सामान्य देखिन्थ्यो । तर, एक्कासि एउटै व्यक्तिले दोर्होयाएर मतदान गर्न खोजेको आशंकापछि विवाद सुरु भयो । सामान्य भनाभन केहीबेरमै झडपमा परिणत भयो ।
मतदान स्थलमा तोडफोड, होहल्ला र भागदौड मच्चियो भने मतदान कार्य नै स्थगित गर्नुपर्ने अवस्था आयो । मतदान केन्द्रमा खटिएका नेपाल प्रहरी र निर्वाचन सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिन खोजे । तर स्थिति झन तनावग्रस्त बन्दै गयो र सशस्त्र प्रहरी बल परिचालन गरियो ।
आक्रोशित भिडले सुरक्षाकर्मी माथि ढुंगामुडा प्रहार गर्न थालेपछि अवस्था थप जटिल बन्यो । अन्ततः नेपाली सेना परिचालन गरिएपछि मात्रै स्थिति पूर्ण रूपमा नियन्त्रणमा आयो । केही समयको तनावपूर्ण अवस्थाका कारण केही नागरिक घाइते भए ।
उनीहरूको तत्काल उद्धार गरी प्राथमिक उपचारपछि थप उपचारका लागि स्वास्थ्य संस्थातर्फ पठाइयो । स्थिति सामान्य बनेपछि निर्वाचन अधिकृतले सुरक्षाकर्मीको उपस्थितिमा राजनीतिक दलका उम्मेदवार तथा प्रतिनिधिलाई बोलाएर सर्वदलीय बैठक आयोजना गरे ।
छलफल तथा सहमतिपछि मतदान प्रक्रिया पुनः सुचारु गरियो । त्यसपछि मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भयो र मतपेटिकाहरू संकलन गरि सबै प्रक्रिया सकेर कडा सुरक्षा घेराभित्रै गणनास्थलतर्फ पठाइयो तर, यहाँ देखिएको यो दृश्य वास्तविक घटना भने होइन । आसन्न प्रतिनिधी सभाको निर्वाचनका क्रममा हुन सक्ने सम्भावित जोखिम र चुनौतीलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे गरिएको नमूना अभ्यास थियो ।
जिल्ला सुरक्षा समितिले आयोजना गरेको उक्त कार्यक्रममा मतदान प्रक्रिया, मतदान केन्द्र व्यवस्थापन, सुरक्षा घेरा निर्धारण, प्रवेश–निकास नियन्त्रण, मतदाता परिचय प्रमाणीकरण, मतपेटिका सुरक्षा तथा भीड नियन्त्रण रणनीतिसम्बन्धी अभ्यास गरिएको थियो ।
त्यस्तै सुरक्षा निकायबीचको समन्वय कसरी प्रभावकारी बनाउने, आकस्मिक सूचना कसरी आदान–प्रदान गर्ने, आदेश श्रृंखला कसरी सञ्चालन गर्ने र संकट उत्पन्न भए तुरुन्तै कसरी निर्णय लिने भन्ने विषयमा व्यवहारिक अभ्यास गरिएको थियो ।
त्यसक्रममा सम्भावित झडप, मतपेटिका तोडफोड प्रयास, मतदान अवरोध, घाइते उद्धार र सर्वदलीय सहमति प्रक्रियासमेत अभ्यासका रूपमा प्रदर्शन गरिएको थियो । यस प्रकारको पूर्वतयारी अभ्यासले निर्वाचनका बेला देखिन सक्ने अन्योल, अफवाह र आकस्मिक अवस्थालाई छिटो र संयमित ढंगले नियन्त्रण गर्न सहयोग पुग्ने र सुरक्षा निकायबीचको जिम्मेवारी थप स्पष्ट हुने अपेक्षा गरिएको छ ।
निवर्नचनका लागि आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै सम्भावित चुनौतीको पूर्वआकलन गर्दै गरिने यस्ता नमूना अभ्यासले सुरक्षा संयन्त्रलाई मात्र होइन, समग्र निर्वाचन प्रक्रियालाई पनि थप विश्वसनीय र सुदृढ बनाउने विश्वास गरिएको छ ।
