सर्लाही । मस्जिद छेउ भएर बाजा बजाउदै जन्ती जादै गरेको बिषयलाई लिएर गत बिहीवार रातिदेखि तनावग्रस्त बनेको रौतहटको सदरमुकाम गौर क्षेत्र अन्ततः शान्तितर्फ उन्मुख भएको छ ।
सोमबार गौर नगरपालिका–६ सबगढामा नागरिक समाजको अगुवाइमा हिन्दु, मुस्लिम, स्थानीय प्रशासन र राजनीतिक दलका व्यक्तिहरु सहित स्थानीय नागरिकहरु उल्लेख संख्यामा उपस्थित भई शान्ति सद्भाव रयालीमा सहभागी भएर आपसी भाईचारा एवं सदभाव कायम राख्न सन्देश दिएको हो ।
सबगढाको मुख्य सडकबाट सुरु भएको रयालीले प्रभावित गाउँ परिक्रमा गर्दै शान्ति, एकता र सहअस्तित्वको सन्देश दिएको र अब कुनै पक्षबाट समाजलाई हानी नोक्सानी हुने गतिविधि नहुनेमा आफुहरुको बिश्वास रहेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।
समाजिक सदभाव र्यालीका अगुवाई गरेका नागरिक समाजका अध्यक्ष जगरनाथ केशरीले अब कुनै पनि प्रकारको उक्साहटमा नलाग्न र सामाजिक सद्भाव कायम राखी एक अर्काको धर्मलाई सम्मान गर्दै आपसी भाईचारा प्रगाढ बनाउन सबैलाई अपिल गरेका छन् ।
केहि दिनको अशान्तिपछि निकालिएको यो रयालीले गौरमा पुनः विश्वास र भाइचाराको वातावरण सिर्जना भएको र सबगढाको दुई समुदाय आपसमा सराहनीय काम गरेको गौर नगरपालिकाको पुर्व मेयर एवं रौतहट (१ को एमाले पार्टीको उम्मेदवार अजय गुप्ताले बताएका छन् । आफुहरु सबै धर्मलाई सम्मान गर्दै मिलेर बस्ने सद्भाव र्यालीमा सह भागी मुस्लिम अगुवाले बताएका छन् ।
दुई समुदाय बीचको विवाद चर्किएपछि उत्पन्न अवस्था नियन्त्रणमा लिन प्रशासनले शनिवार दिउसो १ बजे देखि कर्फयु जारी गरेको थियो । तर स्थिति सामान्यतर्फ उन्मुख भएसँगै जिल्ला प्रशासन कार्यालय रौतहटले सोमवार १० बजेबाट कर्फ्यु हटाएको छ।
सद्भाव र्याली निकाली कर्फ्यु हटाईएपछि गौर बजार खुल्न थालेको छ।सवारीसाधन चल्न थालेको छ।सर्वसधारण र कार्यालयका कर्मचारी दैनिक कामकाजमा फर्किन थालेका छन् ।
नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केसरीको अगुवाईमा निस्किएका शान्ति सदभाव रयालीमा प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसाल, नारायण दल गणका कर्णेल विश्वास विष्ट, नेपाल प्रहरीका एसपी सीताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी, मानबअधिकारकर्मीको समूह ,राजनीतिक दलका नेताहरु, हिन्दु र मुस्लिम पक्षका अगुवाहरु, संचारकर्मीहरु, सुरक्षाकर्मीहरु र स्थानीय बासिन्दाहरुको सहभागीता रहेको थियो ।
