सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावले दिएको परिणाम स्वीकार गर्न र चुनाव सार्ने षडयन्त्रमा नलाग्न चेतावनी दिएका छन् । इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै चुनाव सार्ने भए ४ दिन अगाडि सार्न रविले प्रस्ताव राखेका हुन् ।
चुनाव सार्नुपर्ने भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले केहि दिन पहिले सार्वजनिक गरेको भिडियो सन्देशलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सार्ने नै भए ४ दिन अघि सार्नुपर्ने जिकिर गरेका हुन् । लामिछानेले ४६ सालपछिका सबै काण्डको छानबिन रास्वपाले गर्ने समेत बताएका छन् ।
यस्तै रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहले उद्योग स्थापना गर्न नेताहरूकोमा धाउनुपर्ने र सञ्चालनपछि चन्दा दिनुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।
इटहरीमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले रास्वपाले उद्योगमैत्री वातावरण निर्माण गर्ने बताएका हुन् । पूर्वी क्षेत्र देशकै पहिलो उद्योग–कलकारखाना स्थापना भएको बताउँदै उनले खाने तेलदेखि मरमसलासम्मका उद्योग भएपनि नयाँ उद्योगहरु भने खुल्न नसकेको बताए ।
यस्तै शाहले धरानमा खानेपानीको समस्या समाधान रास्वपाले गर्ने बताएका छन् । उनले धरानमा कोशीबाट पानी ल्याउन पहिल्यै डिपिआर भए पनि अघि बढ्न नसकेको बताउँदै रास्वपाले त्यो समस्या समाधान गर्ने बताएका हुन् ।
चुनावी सभा आयोजगा गर्दै कोशीका विभिन्न जिल्लामा पुगिरहेका रवि–बालेनले मत घण्टीमै दिनुपर्ने दाबी पनि गरिरहेका छन् ।
उसोतः रविले केहिदिन पहिले बालेन्द्र साह ’बालेन’ले ठेकेदारलाई डोरीले बाँधेर भएपनि काम समयमै सक्काउने भनेपछि यो विवाद चर्किएको थियो । यो विवादमा नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति नै जनाएको बेला रविले डोरीले नभई कानूनले बाँध्ने भनेको दाबी गरे ।
रास्वपा कांग्रेस लक्षित आरोपमा समेत अग्रपंक्तिमा उभिन थालेको छ । यता, नेपाली कांग्रेसले पनि अनेक तर्क राख्दै रास्वपाका शैलीदेखि राजनीतिक कार्यक्रममै विरोधका स्वरहरु अघि सारिरहेको छ । रविविरुद्धमा प्रमाण खोई भन्ने प्रश्नको सामना गर्ने गरेको भन्दै कांग्रेस सभापति गगन थापाले पनि यसमा अनेक तर्क दिने गरेका छन् ।
चुनावी माहोल गर्माएको बेला रास्वपा कांग्रेसमात्रै नभई रास्वपाविरुद्ध पुराना भनिने दलहरु प्रायले प्रहार गरिरहेको देखिन्छ ।
