रौतहट । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर ४ मा राजनीतिक दल र स्वतन्त्र गरी ३६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छ्न ।
यो क्षेत्रमा नेपाली काँग्रेसका देवप्रसाद तिमल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल, नेपाली कम्युनिष्ट पार्टीका रामकुमार भट्टराई, नेकपा एमालेका रामजी साह, जनता समाजवादी पार्टीका राजकुमार दास र आमजनता पार्टीका ऋषि धमलाबीच प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ ।
आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर ४ मा नयाँ पुस्ता र पुराना पुस्ताबीच रोचक प्रतिस्पर्धा देखिएको छ । प्रतिनिधिसभा निर्वाचन २०७४ र ०७९ मा दुई पटक निर्वाचित नेपाली कांग्रेसका नेता देवप्रसाद तिमल्सिना पुनः उम्मेदवारी दिएर ‘ह्याट्रिक’ गर्ने लक्ष्यका साथ चुनावी मैदानमा छन् ।
नेता तिमल्सिना विगतका कार्यकालमा सुरु गरिएका पूर्वाधार विकासका योजना सडक, पुल तथा सिंचाइ लगायत शिक्षा र स्वास्थ्यका अधुरा काम पूरा गर्ने एजेण्डा लिएर निर्वाचनमा होमिएका छ्न ।
०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेता तिमल्सिनाले २८ हजार दुई सय ८८ मतले एमालेका नेता डाक्टर बंशीधर मिश्रलाई पराजित गरेका थिए भने ०७९ मा ३४ हजार एक सय ६१ मत ल्याई एमालेका उम्मेद्वार उद्धव रेग्मीलाई सात हजार छ सय दुई मतले पराजित गरेका थिए ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट दोस्रो संविधानसभा सदस्यमा निर्वाचित हाल नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामकुमार भट्टराई पनि चुनावी चर्चाका पात्र हुन । संघीयता, सामाजिक न्याय र समावेशी विकासलाई मुख्य एजेन्डा बनाएका नेता भट्टराईले मतदातामाझ विश्वास दिलाउने प्रयास जारी राखेका छ्न ।
यस्तै नेकपा एमालेका उम्मेदवार रामजी साहले विकास, स्थिरता र सुशासनको नारा उठाउँदै चुनावी अभियानलाई तीव्रता दिएका छ्न । उनी सुनचादी ब्यवसायी पनि हुन् । उनले एमालेको बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र’ मूलमन्त्रसहित समृद्धि, सुशासन र सामाजिक न्यायमा केन्द्रित नारासहित चुनाबी प्रचारप्रसार तिब्र पारेका छ्न ।
यसैबीच लामो समयदेखि शिक्षा सेवामा समर्पित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले “जनताले चाहेको परिवर्तन”को नारासहित नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै चुनावी अभियानलाई तीब्रता दिएका छ्न । जनचाहना बमोजिम नै आफु उम्मेदवार बनेको हुँदा विजय सुनिश्चित रहेको दाबी गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा नवीनतम सुधार ल्याउने प्रतिबद्धता जनाएका छ्न ।
अर्कोतर्फ पत्रकार तथा आम जनता पार्टीका उम्मेदवार ऋषि धमला जनतामाझ मत माग्ने रोचक, अनौठो र फरक शैलीका कारण चर्चामा छ्न । उनले मतदातासँग प्रत्यक्ष संवाद, हाँस्य–व्यंग्य मिसिएको भाषण, किसानको खेतवारिसम्मै पुग्ने र आत्मीय व्यवहारका साथ मत माग्दै आएका छ्न । उनी कहिले उखु काट्न पुग्छ्न् त कहिले मिठाई पसलमा जुलेवी बनाउन पुग्छ्न । लामो समय पत्रकारितामा क्रियाशील धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवार बनेका हुन् ।
त्यसैगरि मधेशबादी दल जसपा नेपालबाट चुनावी मैदानमा रहेका नेता राजकुमार दास आफू दलित नेता भएको र आफ्नो पार्टी दलित, जनजाती, मुस्लिमको हक अधिकारको लागि वकालत गर्दै आएको पार्टी रहेकोले जित सुनिश्चित रहेको दाबी गर्छन् ।
क्षेत्र न .४ मा जनमतका कल्याण पटेल, उज्यालो नेपालका तुलसी गिरी, प्रगतिशील लोकतान्त्रिकका सत्यनारायण भगत पनि चुनावी दौडमा छन् । यीमध्ये तिमल्सिना, नेकपाका भट्टराई र प्रगतिशीलका भगत मात्र पुराना अनुहार हुन् । यो क्षेत्रमा १ लाख १० हजार ३ सय १४ मतदाता रहेका छन् ।
