News 24 Television
डिजिटल अर्थतन्त्रले कसरी देश विकासमा सहयोग पु¥याउँछ ?

काठमाडौं । सूचना प्रविधिको तीव्र विकाससँगै विश्व अर्थतन्त्र डिजिटल प्रणालीतर्फ रुपान्तरण हुँदै गएको छ । नेपालमा पनि पछिल्लो समय डिजिटल अर्थतन्त्रको महत्व तीव्र रुपमा बढ्दै गएको छ । 

नगदरहित कारोबारदेखि रोजगारी सिर्जनासम्म डिजिटल प्रणालीले कस्तो प्रभाव पार्दैछ त । सूचना प्रविधिको विकासले विश्व अर्थतन्त्रलाई नयाँ दिशातर्फ डो¥याइरहेका बेला नेपाल पनि डिजिटल अर्थतन्त्रको यात्रामा अघि बढी रहेको छ । 

नगदरहित कारोबार, वित्तीय पहुँच विस्तार, पारदर्शिता वृद्धि र आर्थिक समृद्धिका लागि डिजिटल प्रणाली अहिलेको प्रमुख आवश्यकता नै बनेको छ । सरकारले पनि डिजिटल अर्थतन्त्र निर्माण र प्रवद्र्धन गर्न २०७६ सालमा डिजिटल नेपाल फ्रेमवर्क जारी गरेको थियो । 

जसले कृषि, स्वास्थ्य, शिक्षा, वित्त लगायत आठ मुख्य क्षेत्रमा ८० भन्दा बढी डिजिटल पहलहरु तय गरेको छ । अहिले यसको दोस्रो संस्करण ल्याउने तयारी गरिरहेको छ । जसले आईसीटी सेवा निर्यात क्षमता, रोजगारी र डिजिटल नवप्रवर्तनलाई थप बल दिने योजना बनाइएको छ । 

डिजिटल प्रविधि, इन्टरनेट, मोबाइल एप, एआई र ब्लकचेनजस्ता प्रविधिको प्रयोग गरी आर्थिक क्रियाकलापलाई डिजिटल माध्यमबाट सञ्चालन गर्ने प्रणाली डिजिटल अर्थतन्त्र हो । अझ पैसाको डिजिटल कारोबारमा हुँदै गएको वृद्धिले देशको अर्थतन्त्रमा ठूलो योगदान दिन सक्छ ।

डिजिटल अर्थतन्त्रका फाइदाः 

१. ग्रामीण तथा दुर्गम भेगमा बैंकिङ पहुँच पुग्छ

२. नगदको प्रयोग घटाउँछ र कारोबारलाई पारदर्शी बनाउँछ

३. नयाँ रोजगारीको अवसर

४. अनलाइन कारोबार प्रणालीले कर छली रोक्छ

५. कारोबारमा कागजी झन्झट तथा समयको बचत गर्छ

डिजिटल अर्थतन्त्रका चुनौतिः 

१. ग्रामिण भेगमा इन्टरनेट र डिजिटल प्रणाली प्रयोगको सीप अभाव

२. डाटा चोरी, ह्याकिङ र फ्रड जस्ता समस्या आउने जोखिम 

३. कानूनी तथा नीतिगत संरचना अभाव

४. डिजिटल सेवा प्रदायकहरू विदेशी कम्पनीमा निर्भर 

५. उच्चगतिको इन्टरनेट, सस्तो डेटा तथा पूर्वाधारको अभाव

नेपालले डिजिटल अर्थतन्त्रलाई बलियो बनाउन सरकारी नीति, प्रविधि विकास, साइबर सुरक्षामा लगानी र डिजिटल साक्षरता अभियानलाई प्राथमिकता दिनुपर्छ । यी चुनौतीहरू समाधान गर्न सकियो भने डिजिटल अर्थतन्त्र स्थापित भई नेपालको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुग्न सक्छ ।

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update