News 24 Television
कैलाश गाउँपालिकामा डोकोमा विरामी बोक्ने दिनको अन्त्य

मकवापुर । २०७७ मंसिरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३०९ स्थानीय तहमा ५, १० र १५ शैयाका आधारभूत अस्पताल निर्माण गर्ने गरी एकसाथ भर्चुअल शिलान्यास गरे । जसमा मकवानपुरको १० स्थानीय तहमध्ये ७ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्याश भएको थियो । 

जसमध्ये कैलाश गाउँपालिकाले जिल्लामै पहिलो आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ । मकवानपुरको विकट कैलाश गाउँपालिकामा १० शैयाको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । 

२०७७ साल मंसिर १५ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर एकसाथ शिल्यानास गरेको आधारभूत अस्पतालहरुमध्ये कैलाश गाउँपालिकालले अस्पतालको निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएको हो । गाउँमै ल्याव सुविधा सहितको अस्पताल बनेसँगै कैलाशका स्थानीय अब उपचार नपाएर अकालमै मृत्युवरणको मुखबाट जोगिने भएका छन् ।  

संघीयतापछि गाउँ गाउँमा सिंहदरबार भन्ने नारा सुन्दै आएका ग्रामिण भेगका नागरिक गाउँको विकास देखेर दंग छन् । बिरामी हुँदा सडक भेटाउन डोकोमा बोकेर मनहरी, चुनियाँ र गजुरीसम्म पुग्नुपर्ने समस्या खेप्दै आएका कैलाशबासी गाउँमै बनेको सुविधा सम्पन्न अस्पताल देखेर खुसी भएका छन् । 

अढाइ तले भवन रहेको वीपी स्मृति आधारभूत अस्पतालबाट इमरजेन्सी सेवासहित स्त्रीरोग, बालरोग, दन्तरोग, छाला रोग, आयुर्वेद, आँखाजाँच, प्रयोगशाला, भिडियो एक्स–रे र इसिजी लगायतका सेवा उपलब्ध हुनेछन् । 

अस्पतालमा २ जना चिकित्सकसहित २२ जनाको दरबन्दी रहेको छ । तर हालसम्म स्वास्थ्य चौकीको दरबन्दी मात्रै कायम रहेको छ ।

तथापि, गाउँपालिकाले प्रदेश सरकार र संघीय सरकारसँगको सहकार्यमा आउँदो नीति कार्यक्रम तथा बजेटमा समावेश हुनेगरी दरबन्दी कायम गरी आवश्यक सामाग्री जुटाएर अस्पतालको सबै सेवा सुचारु गर्ने तयारीमा जुटेको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान बताउँछन् । 

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नवनिर्मित विपि स्मृति कैलाश आधारभूत अस्पताल को उद्घाटन गरेका हुन् । 

संघीय सरकारको ६ करोड ५८ लाख ९९ हजार १ सय ७६ रुपैयाँ लागतमा निर्माण गरिएको अस्पताल भवन गाउँपालिकाको ९ औं स्थापना दिवसको अवसरमा उद्घाटन भएको हो । 

अस्पताल निर्माणका लागि आशिष\आर्शिवाद÷स्वामी नारायण जेभीसँग २०७८ जेठ २७ गते निर्माण सम्झौता भएको थियो भने भवन निर्माण कार्य २०८२ असारमा सम्पन्न भएको हो । 

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update