मुगु । साविक कर्णालीका मुगु, कालिकोट, डोल्पा, जुम्ला र हुम्लाका नागरिकका लागि सरकारले उपलब्ध गराउँदै आएको निःशुल्क खाद्यान्न कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जन्म र मृत्यु संस्कारका लागि प्रतिव्यक्ति ३० केजी चामल र ढुवानी ज्याला समेत उपलब्ध गराउने सरकारी निर्णयले स्थानीयलाई निकै राहत पुगेको छ ।
तत्कालीन माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले २०७३ भदौ २३ गते संसदमा सम्बोधन गर्दै कर्णाली अञ्चलका नागरिकलाई जन्म र मृत्यु भएका आफन्तलाई सामाजिक संस्कार गर्न प्रतिव्यक्ति २० किलो चामल उपलब्ध गराउने घोषणा गरेका थिए ।
उक्त घोषणा फागुन १ गतेदेखि साबिकको कर्णालीका जिल्लामा कार्यान्वयनमा आएसँगै आर्थिक वर्ष २०८१÷०८२ मा पुनः सरकारबाट निर्णय गरी थप १० केजी खाद्यन्न बढाएर ३० केजी पु¥याइएको हो । दुरीको हिसावमा ढुवानी ज्याला समेत दिंदा स्थानीय खुशी समेत भएका छन् ।
बिषेश गरी मृत्यू र जन्मको कर्मका लागि खाद्यान्न ३० के.जी र ढुवानीवापत् स्थानीय तहको दुरी हेरेर प्रतिदिनको ५ सयका दरले बढीमा २ दिनसम्मको ज्याला दिदा सबै भन्दा गरीब, दलित, बिपत्न व्यक्तिहरुले राहत महशुष गरेका छन् ।
हरेक आर्थिक वर्ष वितरण केन्द्रबाट आवश्यक प्रमाणपत्रको आधारमा चामल वितरण गरिंदै आइएको छ । तर आवश्यक कागजपत्र मिलाउन भने निकै समस्या हुने गरेको स्थानीयको दुखेसो छ ।
आर्थिक वर्ष ०८१। ०८२मा जन्ममा ८ सय ५ जना र मृत्यूमा ८१ जना गरी ८ सय ८६ जनालाई २६५ क्विन्टल खाद्यान्न बितरण गरिएको छ । १ सय ३२ कार्यदिन वापत ज्याला ६६ हजार बितरण गरीएको छ भने यो आर्थिक वर्षको ६ महिना भित्र जन्ममा ४ सय ५ जना र मृत्युमा ४० जना गरी ४ सय ४५ जनाले १३३ क्विन्टल खाद्यान्न निशुल्क पाएका छन । ७८ दिनको कार्यवापत ढुवानी ज्याला ३९ हजार रुपैयाँ बितरण गरिएको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी शाखा कार्यालय मुगुले जनाएको छ ।
पछिल्लो दुई आर्थिक वर्षको तथ्याङ्कले कर्णालीका नागरिक यो योजनामा सक्रिय रूपमा सहभागी भएको देखाउँछ । केन्द्रदेखि जिल्ला शाखामार्फत चामल वितरण गर्दै आएको छ ।
