काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि मुलुकमा स्थायी सरकार बन्ने भएकाले ब्यवसायीहरु आशातित बनेका छन् । आगामी १० वर्षमा एक सय विलियनको अर्थतन्त्र बनाउने सकिने विश्वास पनि उनीहरुको छ ।
त्यसैले लगानीमैत्री वातावरणको अपेक्षा उनीहरुको छ । तर गैरआवसीय नेपालीलाई नेपाल सरकारले दिएको नागरिकताको प्रमाणपत्र समेत नचल्ने भएको भन्दै उनीहरुले असन्तुष्टी पनि ब्यक्त गरेका छन् ।
फागुन २१ गतेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनबाट कुनै एक दलले झण्डै २ तिहाइको मत पाएकाले आगामी ५ वर्षसम्म स्थिर सरकार बन्ने अपेक्षा उद्योगी ब्यवसायीहरुले गरेका छन् ।
विगतमा अस्थिर सरकारका कारण लगानीको वातावरण नबनेको भनी चिन्ता ब्यक्त गर्दै आएका ब्यवसायीहरु आशातित भएका हुन् । त्यसैले निशंकोच नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई सम्बद्ध पक्षले आग्रह गरेको छ । तर गैरआवसीय नेपालीहरु भने अझै पनि आशातित हुन भने सकेका छैनन् । प्रधानमन्त्रीकै हातबाट २ वर्षअघि लिएको गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र समेत आज नचल्ने अवस्था रहेको भन्दै उनीहरुले असन्तुष्टी ब्यक्त गरेका छन् ।
कानूनको अभावमा गैरआवसीय नेपाली नागरिकताको प्रमाणपत्रको औचित्य नभएको उनीहरुको गुनोसो छ । एनआरएनएको लगानी कोष पनि कार्यान्वयनमा नआएको प्रति पनि उनीहरुले रोष प्रकट गरेका छन् । एनआरएनएले ५ वर्षअघि अघि बढाएको १० अर्बको लगानी कोष अझै कार्यान्वयनमा नआएकोमा पनि उनीहरुल्े असन्तुष्टि व्यक्त गरेका छन् ।
दश वर्षमा एक सय विलियन अर्थतन्त्र निर्माण गर्न सकिने विश्वास
गैरआवासीय नेपालीहरुले आगामी १० वर्षमा एक सय बिलियनको अर्थतन्त्र निर्माण गर्न सकिने विश्वास पनि ब्यक्त गरेका छन् । बौद्धिक, आर्थिक, शारीरिक, मानसिक रुपमा नेपाललाई समृद्ध बनाउने संकल्प भएमा त्यो सम्भव हुने उनीहरुको विश्वास छ ।
जबसम्म गैरआवासीय नेपालीका लगानी नेपालमा आउँदैन तबसम्म विदेशी लगानीकर्ताको लगानी नआउने उनीहरुको भनाई छ । देशको जिडिपी नेपालभित्र जति छ, त्यत्तिकै नेपाल बाहिर रहेको तर निजी क्षेत्रले पनि एनआरएनलाई उपेक्षा गरेको गुनासो उनीहरुको छ ।
महतोले एक सय बिलियनको अर्थतन्त्र निर्माण गर्न सकिने विश्वास गरे पनि यहाँका उद्योगी ब्यवसायीहरु भने नेपालको आन्तरिक स्रोतले मात्रै त्यो कुरा सम्भव नहुने बताउँछन् । एलडीसी ग्राजुएसनपछि वैदेशिक सहायताको योगदान कम हुने भएकाले नेपाललाई रूपान्तरण गर्न एनआरएनको लगानी बढाउनुको विकल्प नभएको नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष हेमराज ढकाल बताउँछन् ।
लगानीको वातावरण बन्न सकेन
उद्योगी ब्यवसायीहरुले नेपालमा अझै पनि लगानीको वातावरण बन्न नसकेको गुनासो गरेका छन् । नेपालमा प्रवासी नेपालीहरूको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्नुपर्ने नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्रा बताउँछन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल भने गैरआवासीय नेपाली (एनआरएन) हरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् । मुलुकमा अब स्थायी सरकार बन्ने र यसले निजी क्षेत्र तथा एनआरएनले खोजेको राजनीतिक स्थिरता दिने उनको विश्वास छ ।
वर्तमान सरकारमा परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपाली (एनआरएन) हरूलाई नेपालको समग्र विकासको महत्वपूर्ण साझेदारका रूपमा सरकारले स्वीकार गरेको बताउँछन् । सरकार तथा निजी क्षेत्र लगायतका सम्बद्ध निकायले गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न आह्वान गर्दै आए पनि गैरआवासीय नेपालीहरु नेपालमा लगानी गर्न इच्छुक देखिदैनन् । नेपालमा लगानी गर्न भन्दा पनि उनीहरु एनआरएनए भित्रैको राजनीतिक लडाई र खिचातानीमा नै उनीहरु अल्झिरहेका छन् ।
