News 24 Television
प्रदेश सरकारलाई चुनौति दिदै लम्कीचुहा नगरपालिका

कैलाली । अस्पताल सञ्चालनको विषयलाई लिएर कैलालीको लम्कीचुहा नगरपालिका फेरी विवादमा आएको छ । नगरपालिकाले सञ्चालन गर्दै आएको १५ शैयाको लम्कीचुहा अस्पतालको सञ्चालक समिति प्रदेश सरकारले गरेको छ । तर यसलाई नगरपालिकाले अस्वीकार गरेपछि विवाद सतहमा आएको छ ।

प्रदेश सरकारले लम्कीचुहा प्रादेशिक अस्पतालको अध्यक्षमा रामबहादुर विष्ट सहितका पाँच जना सदस्यहरु नियूक्ती गरिसकेको छ । प्रदेश सरकारले नियूक्ती दिएको अस्पताल विकास समिति गैरकानूनी भएको भन्दै लम्कीचुहा नगरपालिकाले त्यो समितिको मातहतमा लम्कीचुहा अस्पताल दिन नसकिने बताएको छ । 

लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाहीले दुइ पक्षका बिच संवाद नै नभएर प्रदेश सरकारका मुख्यमन्त्री कलबहादुर शाहले हस्तक्षप गरेर लम्कीचुहा अस्पताललाई कब्जा गर्न खोजेको आरोप लगाएकी छन् ।

कैलालीको लम्कीचुहा नगरपालिकाले संचालन गरेको १५ शैयाको लम्कीचुहा अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारले हस्तक्षेपकारी भुमिकाबाट बलमिच्यइमा अस्पताल विकास समिति गठन गरेको नगरपालिकाले ठहर गरेको छ । 

लम्कीचुहा नगरपालिका नगर अस्पताललाई प्रदेश सरकारलाई हस्तान्तरण गर्न तयार भएको अवस्थामा प्रदेश सरकारले कुनै छलफल र समन्वय नगरेरै आफ्नै मनोमानीमा अस्पताल, विकास समिति बनाएको लम्कीचुहा नगरपालिकाले प्रदेश सरकारलाई आरोप लगाएको छ । 

लम्कीचुहा अस्पतालको विवाद सामाजिक संजालमा छताछुल्ल हुँदा लम्कीका स्थानियहरुले चिन्ता व्यक्त गरेका छन् । १५ शैयाको अस्पतालको स्तरोन्नती भएर ५० शैयामा रुपान्तरण भएको खबर सुनेर खुसी भएका स्थानियहरु चिन्तित छन् । 

मुख्यमन्त्री कमलबहादुर शाह र लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाही एक आपसमा बसेर छिटो भन्दा छिटो समस्या हल गर्न स्थानीयको आग्रह छ । 

लम्कीचुहा अस्पतालको विवादका विषयमा प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् । 

प्रदेश सरकारले लम्कीचुहा नगरपालिकासंग अन्तिम  छलफल र संवादका लागी तीन पटक सम्म पत्र काटेर बोलाउदा पनि लम्कीचुहा नगरपालिकाले अटेर गरेर नगएको मुख्यमन्त्री शाहले आरोप लगाएका छन् । 

अस्पताल संचालनको केही प्रक्रिया बाँकी रहेकाले त्यो सबै पुरा गरेर केही दिनमै ५० शैयाको अस्पतालले दिने सबै सेवाहरु प्रदान गर्ने मुख्यमन्त्रीले बताएका छन ।

लम्कीचुहा अस्पताल विकास समितिको २०८१ सालको असोज २७ गते बसेको बैठकले १५ शैयाको लम्कीचुहा अस्पताललाई ५० शैयाको अस्पताल बनाउन प्रदेश सरकारसंग माग गर्ने निर्णय गरेको थियो ।

२०८१ सालको फागुन २१ गते सुदूरपश्चिम प्रदेश सरकारले र २०८२ सालको जेठ २६ गते संघीय सरकारको मन्त्रिपरिषदको बैठकले लम्कीचुहा अस्पताललाई १५ शैयाबाट ५० शैयामा स्तरोन्नती गर्दै प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो  । 

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update