News 24 Television
महिलाले महिलाकै विरोध गर्ने भन्दै महान्यायाधिवक्ता आक्रोशित, सपनाले के भनिन् ?

काठमाडौं । कानून व्यवसायमा महिलाको सहभागीता र न्याय निरुपणमा हुने सक्रियता बहसको विषय बन्ने गर्छ । महिला न्यायाधीशहरुले नै महिलामाथि विश्वास गर्ने वातावरण बन्न नसकेको गुणासोदेखि नेपालमा प्रमुख कार्यकारी पदमा पुगिसकेका महिलाहरुले दिने सन्देशले कस्तो काम गर्नुपर्छ ?

किन महिलामाथिको विभेद हट्न सक्दैन् ? यस्ता प्रश्नहरु पेचिला बन्न पुगेका छन् । नेपाल बारले आयोजना गरेको कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलन चलिरहेको छ । सम्मेलनमा न्याय क्षेत्रका सर्वोच्च व्यक्तिदेखि उच्च ओहोदामा रहेकाहरुले सम्बोधन गरिरहेका छन् । महिलाको न्याय क्षेत्रमा हुने सहभागीता, भोग्नुपर्ने विभेद र क्षमतामाथि प्रश्न उठाइने स्थितिको भण्डाफोर रोचक ढंगले चलिरहेको छ । 

यस्तोमा महान्यायाधीवक्ता सविता भण्डारीले महिलाले महिलाकै विरोध गर्ने कुरा प्रमुख समस्याको रुपमा औल्याएकी छन् । 

विवादास्पद निर्णय गरेपछि आलोचनाको केन्द्रमा परेकी भण्डारीले आफूमाथि हुने विरोधलाई सांकेतिक रुपमा देखाउन खोजेको देखिन्छ । यता, सर्वोच्चकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल पनि अब प्रधानन्यायाधीशको रोलक्रममा छिन् । 

न्यायपालिकाभित्रको शुद्धिकरणदेखि आचरणका विषयमा खरो पेश भएकी उनी पनि हिंसाकै वकालतसहित महिलाको क्षमतामाथि प्रश्न उठ्ने गरेको विश्वास गर्छिन् । 

विभेद र असमानतामात्रै बाधक नहुने विश्वाससहित सर्वोच्चकी अर्की न्यायाधीश शन्तिसिंह थापा भने अध्ययन र अनुशासन बिना कानून पेशामा टिक्न नसकिने र  सफलताका पूर्वशर्तहरूमा गहिरो अध्ययन, कार्यदक्षता, क्षमता अभिवृद्धि, पेशागत निष्ठा, इमान्दारिता र कडा अनुशासन नै हुने दाबी गर्छिन् । 

तर, लामो समय न्याय क्षेत्रमा जीवन विताएका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले कानून व्यवसायीलाई पेशागत मर्यादा जोगाउन र आर्थिक रुपमा सबल बन्नका लागि वैकल्पिक स्रोत खोज्न सुझाउछन् । 

उसोतः कानून व्वयसाय मर्यादा र सन्तुष्टीको आधार बन्नुपर्नेमा भण्डारीको जोड छ । तर, उनै भण्डारीकी छोरी समेत रहेकी महान्यायधिवक्ता भण्डारी भने विवादमा तानिने गरेकी छन् । स्वार्थ बाझिने मुद्दामा सक्रियता देखाउदा उनी विवादमा तानिएकी हुन् । 

यस्तै, ’महिलाको समानुपातिक समावेशिता : परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता’ महिला कानून व्यवसायीहरुको राष्ट्रिय सम्मेलन शुरु गरिएको छ । 

सम्मेलनले महिला कानुन व्यवसायीहरूको भूमिका, समानुपातिक समावेशिता तथा न्यायपूर्ण समाज निर्माणमा उनीहरूको योगदानबारे महत्त्वपूर्ण छलफल गर्ने विश्वास लिइएको छ।

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update