काठमाडौं । मध्यपहाडी लोकमार्गस्थित पातिहाल्ना क्षेत्रमा परेको हिमपातका कारण सडक अवरुद्ध बन्न पुगेको छ । वर्षाका कारण परेको हिमपातपछि बागलुङ र रुकुम पूर्वको सीमा नाकामा पर्ने यो क्षेत्र अवरुद्ध बन्दा काठमाडौँबाट रुकुम पूर्व हुँदै विभिन्न गन्तव्यमा आउने र बाहिरिने यात्रु अलपत्र परेका हुन् ।
शुक्रबार दिउँसोदेखि सुरु भएको हिमपातले भूमे गाउँपालिका १ अन्तर्गतको लुकुम, पातिहाल्ना सडक खण्ड पूर्ण रूपमा ठप्प बनेको छ । सडक अवरुद्ध भएपछि यात्रुहरू शनिबार बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म पनि हिउ पन्छाउन नसक्दा यात्रुहरुलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।
यात्रुले हिमपातका कारण निकै सास्ती खेप्नुपरेको बताएका छन् । पोखराबाट रुकुम पश्चिमतर्फ जाँदै गरेकी लक्ष्मी शाहीका अनुसार बस बीच बाटोमै रोकिँदा लामो समय चिसोमा बस्नुपरेको र भोकै बस्नुपरेको गुनासो गरिन् । यस्तै, मुस्ताङबाट फर्किदै गरेका अर्का यात्रु महेश शाहीको अनुभव पनि उस्तैछ ।
हिमपातका कारण सडक अवरुद्ध हुँदा यात्रुका लागि यो क्षेत्रमा सुविधा सम्पन्न होटेलको व्यवस्था नहुनु र सडक खुलाउनका निम्ति गाउँपालिकाको पहलले मात्रै सहज नहुनुले पनि समस्या पर्ने गरेको छ ।
लगातारको हिमपात र वर्षासँगै सो क्षेत्रमा दूरसञ्चार सेवा समेत प्रभावित बनेको छ । मौसममा सुधार नआएसम्म पूर्ण रूपमा सडक सञ्चालनमा ल्याउन चुनौती रहने भएकाले यात्रा गर्दा निरन्तर अपडेट लिन समेत अपिल गरिएको छ। काठमडौं पोखरादेखि विभिन्न क्षेत्रलाई जोड्ने मध्यपहाडी लोकमार्ग हिमपातका कारण अवरुद्ध हुनाले यात्रुहरुले सास्ती खेप्दै आएका छन् ।
