काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अघिल्लो दिन फागुन २३ गते सुर्खेतमा एक किशोरी इनिशा बिकको बलात्कारपछि हत्या भएको भन्दै न्यायको माग गर्दै काठमाडौं लगायत देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ ।
घटनामा संलग्न भएको आरोपमा एक युवक र तीन बालक बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । शनिवार अन्तर्राष्ट्रिय जाति तथा रङ्गभेद उन्मूलन दिवसको मनाइरहँदा यो उक्त हत्या प्रकरणको विषय जोडतोडले उठेको छ ।
गएको २३ फागुनमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ की १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको भन्दै देशैभर प्रदर्शन जारी छ । काठमाडौंको माइतीघर मण्डलामा इनिशाको न्याय माग गर्दै निरन्तर प्रदर्शन भइरहेको छ ।
शनिवार वर्षाका वाबजुद पनि इनिषाको न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन भएको थियो । फागुन २३ मा घरबाट विद्यालय जान्छु भन्दै निस्किएकी इनिशा वीरेन्द्रनगर– ४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट इनिशाको बलात्कारपछि अत्यधिक रक्तश्राव भएका कारण मृत्यु भएको खुलेको थियो । पोष्टमार्टम रिपोर्टमा पनि बर्जजस्ती करणी हुँदा अत्याधिश रक्तश्राव भई मृत्यु भएको उल्लेख छ ।
उक्त घटनामा संलग्न भएको भन्दै प्रहरीले १६ वर्षीय एक किशोर र ३ जना १६ वर्ष पूरा नभएका तीन किशोरहरुलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । तर अहिलेसम्म सत्यतथ्य बाहिर आउन सकेको छैन ।
शनिवार अन्तर्राष्ट्रिय जाति तथा रङ्गभेद उन्मूलन दिवस मनाइरहँदा दलित संघसंगठन तथा अधिकारकर्मीहरुले यो घटनालाई जोडतोडले उठाएका छन् । इनिशा हत्या प्रकरणमा तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको भन्दै दोषीलाई कारबाहीका साथै न्याय पाउनुपर्ने आवाजको सुनुवाइ हुने प्रतिबद्धता प्रहरी प्रमुखले गरेका छन् ।
आन्दोलनका रुपमा मनाइयो जाती उन्मुलन दिवस
शनिवार ६१ औं अन्तर्राष्ट्रिय जाति तथा रङ्गभेद उन्मूलन दिवसलाई राजनीतिक दलित संगठनहरुले आन्दोलनकै रुपमा मनाएका छन् । संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा जातीय विभेद उन्मुलन दिवस माइतीघर मण्डलामा नै ध्यानाकर्षण सभाको आयोजना गरेका थिए ।
‘समाजवादको आधार निर्माणका लागि संविधान सशोधन’ को माग राखेर आयोजना गरिएको ध्यानाकर्षणसभामा रास्वपाबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारसमेत सहभागी थिए । उनले जातीय विभेद उन्मुलन गर्नुपर्ने आवाज आगामी दिनमा उठाउन नपर्ने गरि पूर्ण रुपमा अन्त्य गर्न सवै मिलेर लाग्नुपर्नेमा जोड दिए ।
हरेक वर्ष मार्च २१ मा विश्वभर जातीय विभेद विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै आएको छ । नेपालको संविधानले जातीय विभेदलाई दण्डनीय अपराध माने पनि व्यवहारमा अझै पनि छुवाछुत र उत्पीडनका घटनाहरू कायमै रहने गरेका छन् ।
सन् १९६० मार्च २१ मा दक्षिण अफ्रिकाको शार्पभिलमा रंगभेद विरुद्धको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा ६९ जनाको मृत्यु भएको थियो । सोही घटनाको स्मरणमा संयुक्त राष्ट्र संघले सन् १९६६ मा मार्च २१ लाई अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको रूपमा घोषणा गरेको थियो ।
