News 24 Television
दमकल किन्न नसक्ने अवस्थामा इटहरी, स्थानीय जुटे रकम संकलनमा

सुनसरी । इटहरीमा बुधबार बिहान पूर्वाञ्चल आइसक्रिम पार्लरमा आगलागी भयो । करिब साढे तीन घण्टापछि बल्लतल्ल आगो नियन्त्रणमा आयो । इटहरीको मुख्य चौक नजिक लागेको आगो ढिलो नियन्त्रणमा नआउनुको प्रमुख कारण इटहरीमा दमकल विहिन हुनु हो । 

त्यसमा पनि आइसक्रिम पार्लरमा लागेको आगो छिमेकी स्थानीय तहको दमकल बोलाएर नियन्त्रणमा लिनपर्ने बाध्यता बन्यो  भने लामो समय इटहरीबासी त्रासमा बस्न बाध्य भए ।  

इटहरीमा बुधबार बिहान पूर्वाञ्चल आइसक्रिम पार्लरमा आगलागी भएको थियो । आगलागीबाट करिब ३५ लाख रुपैयाको क्षति भएको छ ।

ठिक ४ महिना अघि इटहरीकै आइतबारेस्थित सब्जी मण्डीको तीनवटा पसलमा लागलागी भएर ५० लाख बराबरको क्षति भएको थियो । 

त्यो घटनामा पनि छिमेकी स्थानीय तह सुन्दरहैचा नगरपालिका, रामधुनी नगरपालिका, दुहबी तथा धरान उपमहानगरको दमकलको भरमा आगलागी निकै ढिलो नियन्त्रणमा आयो । 

इटहरी उपमहानगरपालिकाको दुईवटा दमकल जेनजी आन्दोलनमा आगजनी गरि ध्वस्त भयो । आगजनी भएको दमकल तथा अन्य सबारी साधन उपमहानगर भित्र अझै पनि उठ्न सकेको छैन ।

 नगरको अत्यावश्यक साधनको रुपमा रहने दमकल अभावको समस्या ७ महिना भयो । तर इटहरी उपमहानगरपालिले दमकल तत्काल खरिद गर्ने प्रकृयामा ढिलासुस्ती गर्दा नगरमा हुने आगलागीका घटनामा लाखौ करोडौ क्षति भइरहेको छ । यता, उपमहानगरको ढिलासुस्तीका कारण आगजनीका घटना बढ्दा इटहरीका नगरवासी स्थानीय सरकार प्रति रुष्ट बनेका छन् । 

जेनजी आन्दोल पश्चात, इटहरी उपमहानगरले दमकल खरिद गर्ने कार्यपालिका बैठकबाट निर्णय समेत गरेको छ । तर दमकल खरिद गर्ने बजेट अभावको कारण देखाउदै हालसम्म यो प्रकृया बिचमै रोकिएको बताइएको छ । 

उपमहानगरसँग दमकल खरिद गर्ने बजेट नभएको दाबी गदै अन्य श्रोतबाट पैसा निकासा गरेर भएपनि दमकल खरिद गर्ने भनिएको थियो । तर मेयर र प्रमुख प्रशासकिय अधिकृतले चासो नदिदाँ दमकल खरिद गर्ने प्रकृया हालसम्म अलमलिएको छ । 

इटहरी उपमहानगर पनि खरिद प्रकृया लामो हुने र बजेट अभावको कारण दमकल खरिद हुन नसकेको स्वीकार्छ । यता, नगरवासीको धैर्य टुट्दै गएको छ । स्थानीय सरकारप्रति असन्तुष्टि बढ्दो छ । यस्तो अवस्थामा, नागरिकस्तरबाटै रकम संकलन गरेर दमकल किन्ने पहलको तयारी समेत भइरहेको छ । 

विशेषगरी हावाहुरीको मौसम नजिकिँदै गर्दा आगलागीको जोखिम झन बढ्ने भएकाले यो पहललाई धेरैले आवश्यक कदमका रूपमा हेरेका छन् । 

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update