News 24 Television
मोलुङको पहिरे खोलामा पुल निर्माणको काम शुरु

ओखलढुङ्गा । हरेक वर्ष वर्षातको समयमा निकै चर्चामा आउने ओखलढुंगाको खहरे खोला हो, मोलुङ गाउँपालिका १ स्थित पहिरे खोला । सुख्खा याममा कमिला कुद्ने जस्तो शान्त देखिने यो खोला, मध्ययम वर्षा हुनासाथै उग्र बन्छ । कहिले सडक नै बगाउँछ, कहिले माथिबाट लेदो र माटो बगाएर मुख्य मार्ग पटक–पटक अवरुद्ध पार्छ । 

विशेष गरि जिल्लाका ५ स्थानीय तहका नागरिकले सदरमुकाम आउजाउ गर्न प्रयोग गर्ने मुख्य सडकमा पर्ने पहिरे खोलाले वर्षेनी सास्ती थप्दै आएको छ । 

वर्षात लागेसँगै ओखलढुंगाको पहिरे खोलाले स्थानीयको दैनिकी अस्तव्यस्त बनाउने समस्या नयाँ होइन । वर्षौँदेखि दोहोरिँदै आएको यो जोखिमका बीच धेरै समयअघिदेखि नै पुल निर्माणको आवश्यकता बारे चर्चा हुँदै आएको थियो । तर, प्रदेश सरकार परिवर्तन, राजनीतिक प्राथमिकतामा आएको फेरबदल र ठेक्का प्रक्रिया नै लामो समयसम्म अल्झिँदा योजना अघि बढ्न सकेको थिएन । 

पटक–पटक पहल भए पनि प्रक्रिया पूरा नहुँदा पुल निर्माण अन्योलमै रहँदै आएको थियो । यसले वर्षेनी उही समस्या दोहोरिँदा पनि समाधान टाढै रह्यो । तर अहिले भने सबै प्रशासनिक तथा ठेक्का प्रक्रिया पूरा भएसँगै पुल निर्माणको काम धमाधम अघि बढेको हो । 

यो मोटरेबल पुलका निर्माणका लागि एमएस यति निर्माण सेवा सोलुखुम्बुले गत साउनमा ठेक्का सम्झौता गरेको थियो । कोशी प्रदेश सरकारको कुल ३ करोड ७२ लाख रुपैयाँमा भएको सम्झौता अनुसार निर्माण कम्पनीले २ वर्षभित्र पुल निर्माण सम्पन्न गर्नुपर्नेछ । प्राविधिक रूपमा यो पुल आधुनिक डिजाइनमा निर्माण गरिनेछ । 

जसले वर्षा याममा खोलाको बहाव र जोखिमलाई ध्यानमा राखेर दिगो समाधान दिने अपेक्षा गरिएको छ । पुल निर्माण सुरु भएसँगै विगतदेखिको समस्या अन्त्य हुनेमा स्थानीय आशावादी छन । कुनै पनि बहानामा काम रोक्न नहुने र सम्झौता अवधिभित्रै पुल निर्माण सकिनुपर्ने उनीहरूको स्पष्ट माग छ ।

वर्षौँदेखि सास्तीको प्रतीक बनेको पहिरे खोला अब परिवर्तनको चरणमा छ । खोलामा पुल निर्माण सुरु भएसँगै समस्या समाधानतर्फको यात्रा सुरु त भएको छ । तर त्यो कत्तिको समयमै र गुणस्तरीय रूपमा सम्पन्न हुन्छ भन्ने कुराले नागरिकको विश्वासलाई निर्धारण गर्नेछ ।

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update